एमालेको ‘मध्यपहाडी लाेकमार्ग संकल्प यात्रा’ शुरु (तस्वीरहरु)


१४ मंसिर २०८०, बिहीबार
amale

बैतडी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘मध्यपहाडी लोकमार्ग संकल्प यात्रा’ शुरु गरेको छ । यात्राको एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका छन् ।

1 8

अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा आज बिहान नेपाली झण्डा झण्डोत्तोलन गरेर संकल्प यात्रा शुभारम्भ गरेका हुन् । यस अवसरमा अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना पूरा गर्न अभियान थालिएको बताए । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको भनाइ थियो ।

2 7

संकल्प यात्रा शुभारम्भपछि आजै बैतडी सदरकुकाम गोठलापानीमा आयोजना गर्न लागिएको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीले जनाएको छ । आजै साँझ बैतडीको खोडपेमा बझाङका नेता–कार्यकर्तासँग अध्यक्ष ओलीको भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

3 7

नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष कृष्ण प्रसाद जैशीका अनुसार झुलाघाटबाट सुरु भएको सङ्कल्प यात्रा मध्यपहाडी लोक मार्गमा तीन सातासम्म चल्ने छ । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब १,८७९ किलोमिटर रहेको छ । पुस २ गते पाँचथरको चिवा झञ्ज्याङमा पुगेर यात्रा समापन हुने सुदूरपश्चिम अध्यक्ष जैशीले जानकारी दिए ।

4 5

यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ । सबै ठाउँका जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गरिने भएको छ । यसैबीच प्रत्येक जिल्लामा एउटा ठूलो सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्व र सान्दर्भिकता दर्शाउने बताइएको छ ।

5 4

२६ जिल्ला जोड्ने मध्य पहाडी लोकमार्ग

करिब २६ वटा पहाडी जिल्लालाई सडक सञ्जालले जोड्ने लक्ष्यसहित पुष्पलाल (मध्यपहाडी) लोकमार्ग नामकरण गरी सरकारले निर्माणको कार्य अगाडि बढेको छ । तर निर्माणको कार्यले सार्थकता पाउन सकेको छैन । आयोजना शुरु गर्दा सुरुमा एक हजार ७७६ किलोमिटर अनुमान गरिएको थियो । पछि १,८७९ किलोमिटर पुर्‍याएको थियो ।

6 3

तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले २०६४/६५ मा तराईको महेन्द्रराजमार्ग र हुलाकी राजमार्ग जस्तै मध्य पहाडी भूभागलाई राजमार्गले पूर्व–पश्चिम जोड्ने उद्देश्यले पहिलो पटक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको रेखाङकन गरि बजेट विनियोजन गरेका थिए ।

7 1

भट्टराई नै २०६८ मा प्रधानमन्त्री भएका बेला उक्त लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेका थिए । पहाडका २६ जिल्ला भएर जाने राजमार्गले करिब एक करोड जनसंख्या लाभान्वित हुने अनुमान गरिएको छ । साथै पहाडी क्षेत्र १० वटा शहरको विकास हुने र यहाँबाट अन्यत्र बसाइ सरेर जाने क्रममा रोकिने बताइएको छ ।

9
10

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७