नेपाल एयरलाइन्सले प्रधानमन्त्री लिएर दुबई उड्दा छोडिए टिकट काटेका ३१ यात्रु


१४ मंसिर २०८०, बिहीबार
Prachanda ua

काठमाडौं । नेपाल एयरलाइन्सको जहाजले दुबई जान टिकट काटिसकेका ३१ जना यात्रुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै छोडेर दुबई पुगेको छ । एयरलाइन्सको जहाजले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लिएर दुबई उड्दा सोही विमानको टिकट लिएका ३१ यात्रुहरु काठमाडौंमै छुटेका हुन् ।

जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली गएराति साढे ९ बजे नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ बाट दुबई प्रस्थान गरेका थिए । त्यही जहाजमा टिकट काटेका अरु यात्रु भने दुबई जान पाएनन् ।

यात्रुहरु छुट्नुको कारण ‘भीभीआईपी फ्लाइट’ रहेको नेपाल एयरलाइन्सले जनाएको छ । प्रधानमन्त्रीलाई दुबई लैजान नेपाल एयरलाइन्सको उडान पूर्व निर्धारित समयभन्दा दुई घण्टाअघि सारिएको थियो । साढे ११ बजे उड्ने भनेको जहाज प्रधानमन्त्रीलाई लिएर साढे ९ बजे नै उडेको थियो ।

तर उडान तालिका अघि सरेको जानकारी नेपाल एयरलाइन्सले नगराउँदा एयरपोर्ट पुगिसकेका यात्रुहरु पनि फर्किन बाध्य भएका थिए । ती यात्रुहरुलाई ज्ञानेश्वरस्थित काबेरी इन होटलमा राखिएको जनाइएको छ । प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरु छन् । नेपाल एयरलाइन्सले पूर्वनिर्धारित मिति र समयमा नउडाउँदा दुबईमा पहिल्यै होटल बुक गरेका र काममा खटिनुपर्नेहरु समस्यामा परेका छन् ।

image 243

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७