आम्दाका मेसुमाथि आक्रमण प्रकरण : कारबाहीको माग गर्दै आन्दोलनमा डाक्टरहरू


१४ मंसिर २०८०, बिहीबार
amda

बुटवल । बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) का चिकित्सकमाथि भएको आक्रमणको बिरोधमा डाक्टरहरू आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघ, लुम्बिनी प्रदेशसहितका स्वास्थ्यकर्मीहरूले सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यालय, बुटवलमा बिहीबार धर्ना दिए ।

सुत्केरीको उपचारको क्रममा मृत्यु भएपछि बुधवार आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्याललाई आक्रमण गरेर गम्भीर घाइते बनाएपछि डक्टरहरूले आक्रमण गर्नेलाई कारबाही माग गर्दै आन्दोलन थालेका हुन् । संघका सचिव डा सन्तोष पोखरेलले बुधवार बसेको बैठकमा हातपात भएको चिकित्सकको विषयमा कुनै कुरा नउठेको भन्दै सार्वजनिक अवराधअन्तर्गत कारबाहीका लागि मुद्दा दर्ता गर्न लागेको बताए ।

पक्राउ परेका सात जना उपर किटानी जाहेरीसहित निवेदन दर्ता प्रक्रियामा रहेको उनले बताए । प्रहरीबाट आवश्यक प्रक्रिया अघि बढाउने कुरामा सहमति भएको र चिकित्सकको घाउचोट सुधार हुन लागेको उनले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले संवेदशील घटना घटेको भन्दै यसबारे कानूनबमोजिम कारबाही अघि बढ्ने बताए ।

निजी अस्पताल ब्यवसायी संघ (अफिन), लुम्बिनी प्रदेश अध्यक्ष रामप्रसाद खरेलले चिकित्सकहरू उपचार गर्दा समेत पिटिनुपर्ने अवस्था आउनु दुःखद भएको बताए । यस्तो विकृति रोक्नेतर्फ सरकारको ध्यान जानुपर्ने भन्दै उनले आम नागरिकले सहज उपचारको व्यवस्थामा ध्यान पनि दिनुपर्ने बताए ।

सोमवार भर्ना भएकी गुल्मीको सत्यवती गाउँपालिका–२ ठूलोलुम्पेककी ३२ वर्षीया भवानी रासकोटीको मंगलवार बिहान मृत्यु भएको थियो । उनले अस्पतालमै शल्यक्रियामार्फत करिब ५ किलोको बच्चा जन्माएकी थिइन् । उनको सोमबार नै शल्यक्रिया गरेर बच्चा जन्माइएको थियो । बच्चा भने सकुशल छन् । सुत्केरीको मृत्यु भएपछि अस्पताल प्रशासनले मृत्युको कारणबारे उनका आफन्तलाई जानकारी गराएको थियो । मंगलवार बिहान सुत्केरी महिला बेडबाट उठ्न खोजेपछि ‘पल्मनरी इम्बोलिजम’ का कारण अचानक मृत्यु भएको अस्पतालको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७