भूकम्प प्रभावितलाई एकै पटक ५० हजार दिन सकिंदैन : गृहमन्त्री श्रेष्ठ


२०८० मङ्सिर १४ बिहीबार ११:२१ बजे

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन एकै किस्तामा ५० हजार दिन नसकिे बताएका छन् ।

आज (बिहीबार) राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले एकमुष्ट दिन माग भए पनि त्यो सम्भव नभएको बताएका हुन् । उनले दुई किस्तामा दिइने, तर एक दिनको फरकमा समेत पाउन सक्ने जिकिर गरे ।
उनका अनुसार पहिलो किस्ता बिना बैंक खाता नगदै पनि प्राप्त गर्न सक्ने बताए । दोस्रो किस्ता प्राप्त गर्न भने दुई वटा शर्त रहेको उनले जानकारी दिए ।
पहिलो - कहाँ घर बनाउने हो त्यसको तयारी कुनै न कुनै रुपमा अगाडि बढेको देखाउनु पर्ने ।
दोस्रो - बैंक खाता हुनुपर्ने ।

‘पहिलो किस्ता सहजै पाउँछन् । दोस्रो किस्ता पाउन यसो खोस्रिएर भए पनि यो ठाउँमा आवास बनाउन लागेको भन्ने कम्तीमा होस् । त्यतिञ्जेल बैंक खाता छैन भने खोलोस्’, गृहमन्त्री श्रेष्ठले भने, ‘पहिलो दिन पहिलो किस्ता लिनेले भोलिपल्टै पनि दोस्रो किस्ता पाउन सक्ने अवस्था छ ।’

सत्ता साझेदार नेपाली कांग्रेसले भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ एकमुष्ट दिन सरकारसाग माग गरेको छ । सरकारी रकम पीडितको खातामा नै जाओस् भन्ने सरकारको उद्देश्य रहेको तर कतिपयको बैंक खाता नभएकाले सहजीकरणका लागि दोस्रो किस्ता लिन मात्रै बैंक खाता अनिवार्य गरिएको गृहमन्त्री श्रेष्ठले बताएका छन् ।

गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले रकम दुरुपयोग नहोस् र भविष्यमा प्रश्न नउठोस् भनेर दुई किस्तामा अनुदान दिन लागिएको बताए । पीडितको खातामा पैसा जाँदा त्यसको रेकर्ड राख्न सहज हुने र दोस्रो किस्ता पाउन केही न केही काम अगाडि बढाएको हुनुपर्ने प्रावधानले सरकारी रकम दुरुपयोग नहुने उनको भनाइ छ । सचिव भट्टराईका अनुसार अस्थायी आवास बनाउने थोरै काम सुरु गर्नासाथ दोस्रो किस्ता पाउन सकिन्छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७