राप्रपा महामन्त्री राणा भारतीय नम्बर प्लेटको गाडीमा हुइँकेर सिंहदरबार पसेपछि …


१४ मंसिर २०८०, बिहीबार
Singha Darbar

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर राणा बिहीबार नियमविपरीत भारतीय नम्बर प्लेटको गाडीमा ‘हुइँकाएर’ सिंहदरबार पुगेका छन् । भन्सार अनुमतिको म्याद सकिएको भारतीय नम्बर प्लेटको गाडीमा उनी आज सिंहदरबारस्थित समितिको बैठकमा सहभागी हुने पुगेको स्रोतले बतायो ।

उनी भन्सार अनुमति पास समेत नभएको गाडीमा गएको पाइएपछि प्रहरीले राणासहित गाडीलाई बाहिर निकालेको जनाइएको छ । राणाले आफ्नो नातेदारहरु गाडीमा भारतबाट आएको र सोही गाडीमा आफू सिंहदरबार गएको स्पष्ट पारेका छन् । ‘नातेदारहरु भारतबाट आएका थिए । गाडीको भन्सार थप्नु थियो । त्यही गाडी लिएर सिंहदरबारको मिटिङमा आएको थिएँ’, उनले खुलाए, ‘मलाई यहाँ गाडी ल्याउन मिल्छ कि मिल्दैन थाहा थिएन ।’

उनले आफूले यसबारे थापा पाएपछि दुई दिनको भन्सार अनुमतिपत्र गराएको जानकारी दिएका छन् । ‘कस्टमको म्याद आजसम्मको थियो । भोलि–पर्सीका लागि थप्नु थियो । पहिला सिंहदरबार गएर कस्टम अफिस जान्छु भन्ने थियो । कमिटीको बैठकस्थल बाहिर राखेको थिएँ । बाहिर गरिदिएका रहेछन् ।’

विशेष परिस्थिति बाहेक भारतीय नम्बर प्लेटको गाडी सिंहदरबार प्रवेश नदिइने प्रहरी स्रोतले बताएको छ । अर्को कुरा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा विदेशमा दर्ता भएको सवारी प्रचलित कानून बमोजिम अनुमति नलिइ नेपालभित्र चलाउन नपाइने र त्यसो गरेमा १ हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना लिने उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७