नक्कली भुटानी शरणार्थी प्रकरणमा भोलि उच्च अदालतले आदेश सुनाउने


१४ मंसिर २०८०, बिहीबार
bhutani

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्ध दायर पुनरावलोकन निवेदनमाथि उच्च अदालत पाटनले सुनुवाइ सकेको छ ।

जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरुको तर्फबाट बिहीबार जवाफी बहस सकिएसँगै सुनुवाइ सकिएको हो । उच्च अदालतले भोलि (शुक्रबार) आदेश (फैसला) सुनाउने जनाइएको छ । गत एक सातादेखि उच्च अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा सुनुवाइ भइरहेको थियो । बुधबार सरकारी पक्षबाट सरकारी वकिलहरुले बहस सकेका थिए । बिहीबार नै फैसला सुनाउने बताइए पनि जवाफी बहस सक्न समय लागेका कारण शुक्रबार फैसला सुनाइने अदालतका एक अधिकारीले जानकारी दिए ।

अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको हकमा जिल्लाकै थुनछेक आदेशलाई सदर गर्ने वा आदेश खारेज गर्ने भन्ने निर्णय सुनाउनेछ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देशमा पठाइदिने भन्दै नेपाली नागरिकबाट करोडौं रकम उठाएर ठगी गरेको प्रकरणमा पूर्व उपप्रधानमन्त्री र पूर्व गृहमन्त्री सहितका व्यक्ति प्रतिवादी छन् ।

नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहितका प्रतिवादीलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । काठमाडौं जिल्ला अदालतले गत असार १ गते सुनाएको थुनछेक आदेशविरुद्ध उनीहरुले उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७