एमालेको पदयात्रा आज डोटीको सिलगढी पुग्ने


१५ मंसिर २०८०, शुक्रबार
amale padyatra

काठमाडौँ । नेकपा एमालेको हिजो (बिहीबार) बैतडीबाट सुरु भएको मध्य पहाडी लोकमार्ग पदयात्रा आज डोटीको सिलगढी पुग्दैछ । यो क्रममा ७० किलोमिटरको यात्रा हुनेछ ।

हिजो बैतडीको झुलाघाटबाट सुरू भएको पदयात्रा डडेल्धुराको अमरगढी पुगेको थियो । अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्ग यात्राको उद्घाटन राष्ट्रिय झण्डाको झण्डोतलन गरी हिजो बिहान सुरू गरेका थिए । बिहीबार १३० किलोमिटर यात्रा गरेर अभियान डडेल्धुराको अमरगढी आइपुगेको थियो । हाल पुष्पलाल राजमार्ग समेत भनिने मध्य पहाडी राजमार्गको करिब १,८७९ किलोमिटरसम्म एमालेको पदयात्रा हिजोबाट सुरू भएको हो, जुन पुस ५ गते चिवाभञ्ज्याङमा पुगेर समापन हुँदैछ ।

‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिको लागि संकल्प यात्रा’ नाम दिइएको उक्त पदयात्राको क्रममा मध्य पहाडी राजमार्गका मुख्य सहरहरूमा आमसभा, कोणसभा, अन्तरक्रिया र छलफल जस्ता कार्यक्रम हुनेछन् । शुक्रबार अमरगढीमा बिहानको खाना खाएर यात्रा सुरु हुनेछ । त्यसपछि सकाली, गोपघाट, राजापुर चोक र दिपायलमा भेटघाट तथा छलफलहरू हुनेछन् भने सिलगढीमा सभा आयोजना गरिनेछ । अध्यक्ष ओलीलगायत एमालेका शीर्ष नेताहरू यो यात्रामा सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७