नेपालको जलविद्युत, पर्यटन र सूचना प्रविधिमा लगानी गर्न महासंघका अध्यक्ष ढकालको आग्रह


१५ मंसिर २०८०, शुक्रबार
chandra dhakal dubai scaled

दुबइ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युएईका लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन तथा नयाँ लगानीका अवसर प्राप्त गर्न आग्रह गरेका छन् ।

दुबईमा आयोजित नेपाल युएई बिजनेस फोरमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र देखिएको सुधारले लगानीकर्ताहरूलाई नयाँ अवसरहरू सिर्जना भएको बताएका हुन् । अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटी गरी चार क्षेत्रहरूमा लगानीको आकर्षण रहेको बताए ।

आफ्नै आन्तरिक बजार तथा भारत र बङ्गलादेशका क्षेत्रीय बजारहरूमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युतमा गरिने लगानीले उच्च प्रतिफल दिने अध्यक्ष ढकालले उल्लेख गरे । अध्यक्ष ढकालले थप पर्यटकहरूलाई स्वागत गर्न नेपालमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आएको र निजी क्षेत्रले लक्जरी होटेल तथा रिसोर्टहरूमा लगानी बढाएको पनि उल्लेख गरे ।

अध्यक्ष ढकालले युएईका लगानीकर्ताहरूलाई होटल, केबलकार, थिम पार्क र हिल स्टेसन लगायतका पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागि समेत आग्रह गरेका हुन् । अध्यक्ष ढकालले नेपालको उच्च हिमाली क्षेत्रका कृषि उत्पादन तथा जडिबुटीको बिश्व बजारमा माग रहेको र कृषि प्रशोधनमा समेत लगानीका थप अवसरहरू रहेको तर्फ पनि युएईका लगानीकर्ताहरूको ध्यानाकर्षण गराएका हुन् ।

डिजिटल अर्थतन्त्रको विकासले आइसिटी क्षेत्रमा युवाहरूको आकर्षण बढेकाले यस क्षेत्रमा समेत लगानी साझेदारीका सम्भावनाहरू प्रशस्त रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । व्यापार र लगानीमा बैङ्किङ तथा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहेकोले नेपालको बैङ्किङ क्षेत्रमा युएईको लगानी प्रवर्द्धन गर्न पनि अध्यक्ष ढकालले आग्रह गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७