हमास–इजरायलले थप ३८ बन्दी छाडे, कहिले छुट्लान् नेपालका विपिन जोशी ?


१५ मंसिर २०८०, शुक्रबार
hamash bandi

काठमाडौं । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच भएको युद्धविरामको सातौं दिन गाजाबाट थप आठ जना इजरायली बन्धक मुक्त भएका छन् । अस्ती बुधवार दुई र सातौं दिन हिजो (बिहीबार) आठसहित हमासले १० जनालाई रिहा गरेको छ । इजरायलले बदलामा थप ३० प्यालेस्टिनी बन्दीलाई जेलबाट रिहा गरेको जनाएको छ ।

हमासले एक जना बन्धक रिहा गरे बापत इजरायलले तीन जना प्यालेस्टिनी कैदीलाई छाड्ने सहमति थियो । हमास र इजरायलबीच बन्धकहरूलाई लिएर भएको सम्झौता गएको शुक्रवारदेखि लागू भएको हो । इजरायल र हमासबीच हिजो एक दिनका लागि युद्धविराम थपिएको थियो । यो अवधि सकिएसँगै फेरि विस्तार गर्ने या नगर्ने अन्योल छ । तर युद्धविराम थप गर्न निरन्तर छलफल र वार्ता चलिरहेको जनाइएको छ । कतार, अमेरिका र इजिप्टको पहलमा दुई पक्षसँग छलफल भइरहेको बीबीसीले जनाएको छ ।

यता इजरायलमा विद्रोही हमास समूहको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको भने अझै हुन सकेको छैन । इजरायल र हमास दुबै पक्षले पटक–पटक बन्दी मुक्त गरिरहेका बेला हमासको नियन्त्रणमा रहेको भनिएका विपिन जोशीको अवस्था भने अझै खुल्न सकेको छैन । उनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री एनपी साउद मंसिर २३ मा कतार जान लागेका छन् ।

यसअघि मंसिर ८ गते परराष्ट्र मन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन समेत दिएका थिए ।

परराष्ट्र मन्त्री साउदले बुधवार गृह जिल्ला कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवा आमासँग पनि भेट गरेका छन् । कतार बसाइँका क्रममा उनी दोहा २१ औँ फोरममा पनि सहभागी हुनेछन् । डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ । यसैबीच संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हमासबाट बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको बिना शर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरुसँग आग्रह गर्ने निर्णय गरेको छ ।

हिजो (बिहीबार) सिंहदरबारमा बसेको समितिको बैठकपछि निर्णय सुनाउँदै समिति सभापति राजकिशोर यादवले विपिन जोशीको अविलम्ब रिहाइका लागि हमासलगायत शक्तिहरुसँग आग्रह गर्ने निर्णय भएको बताएका छन् । उनले नेपाल कुनै पनि पक्षधरता देश नरहेको र जहिले पनि शान्तिको वकालत गर्ने भएकाले नेपालका नागरिकलाई कारण बिना बन्धक बनाइन नहुने बताए । बैठकले समितिको ६ महिनाको भावी कार्ययोजना र समितिको कार्य प्राथमिकीकरणका लागि नौ सदस्यीय कार्यदल गठन गरेको उनले जानकारी दिए ।

यादव संयोजक रहेको कार्यदलमा उदय शमशेर जबरा, एकनाथ ढकाल, छिरिङ यामु लामा, देवीप्रकाश भट्टचन, डा. धवल शमशेर जबरा, प्रेम सुवाल, शिशिर खनाल र सम्झना थपलिया सदस्य छन् । अमेरिकी शीर्ष कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनले इजरायललाई नागरिकको जीवन रक्षा गर्न थप प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।

ब्लिन्केन इजरायलको भ्रमणमा छन् । गएको अक्टोबर ७ तारिखमा इजरायलमा हमासले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । उसले २४० जनालाई बन्धक बनाएको थियो । त्यसयता इजरायलको प्रतिआक्रमणमा झण्डै छ हजार बालबालिकासहित १४ हजार आठ सय जनाभन्दा धेरै मानिस मारिएका गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७