गणतन्त्रविरुद्धको गलत हर्कतलाई सामुहिक जवाफ दिन जरुरी छ : कावा प्रधानमन्त्री खड्का

बढ्दो आयात र घढ्दो निर्यातका कारण अर्थतन्त्रमा दबाब परिरहेको छ’


१५ मंसिर २०८०, शुक्रबार
purna

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकमा आर्थिक स्थायित्व कायम गर्ने, लगानीको वातावरण सुधार गरी आय र रोजगारी बढाउने कुरामा सरकार लागिपरेको बताएका छन् ।

आज (शुक्रबार) काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बढ्दो आयात र घढ्दो निर्यातका कारण देशको अर्थतन्त्र दबाबमा परिरहेको बताए । उनले पुँजीगत खर्च अपेक्षाकृत रुपमा हुन नसक्नु र राजश्व परिचालन पनि अपेक्षाकृत रुपमा बढ्न नसक्नुले अर्थतन्त्रलाई लयमा ल्याउन थप मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले सरकार र निजी क्षेत्रसहित सबै एकतावद्ध भएर समन्वयात्मक तरिकाले काम गरे अर्थतन्त्रलाई लयमा ल्याउन सकिने बताए । उनले मुलुकसँग यतिबेला १० महिनाभन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न पुग्ने सञ्चिति रहेको पनि बताए । अर्थतन्त्रका धेरै परिसूचकहरु अझै पनि पूर्णतः जोखिममुक्त भइनसकेको उल्लेख गरे ।

उनले भने, ‘अहिले विश्व अर्थतन्त्र प्रभावित भइरहेको विषय हामी सबैका लागि जानकारी नै छ । सानो अर्थतन्त्र भएको नेपाल हामी पनि यसबाट अछुतो हुन सकेका छैनौँ । यस्तो जटिल र विषम परिस्थितिमा मुलुकमा आर्थिक स्थायित्व कायम गर्ने, लगानीको वातावरण सुधार गरी आय र रोजगारी बढाउन हामीले हाम्रा सम्पूर्ण प्रयासहरु केन्द्रित गर्नुपर्ने खाँचो छ । बढ्दो आयात र घढ्दो निर्यातका कारण हाम्रो अर्थतन्त्र सधैँ दबाबमा परिरहेको छ । विविध समस्याहरु हामी सामना गरिरहेका छौँ । त्यसमाथि पुँजीगत खर्च अपेक्षाकृत रुपमा हुन नसक्नु र राजश्व परिचालन पनि अपेक्षाकृत रुपमा बढ्न नसक्नुले अर्थतन्त्रलाई लयमा ल्याउन हामीले थप मेहनत गर्नुपर्छ । त्यसका लागि हामी सरकार र निजी क्षेत्रसहित सबै एकतावद्ध भएर समन्वयात्मक तरिकाले काम गर्नुपर्ने आवश्यकता छ ।’

कार्यवाहक प्रधानमन्त्री खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक रुपमा अन्य प्रणाली भन्दा उन्नत रहेको दावी गरे । उनले यो शासन प्रणालीको विकल्प नरहेको बताए । वर्तमान शासन प्रणालीलाई अघि बढाउँदा जिम्मेवारीमा बसेकाहरुले कामबाट, निर्णय, कार्यशैली, जीवनशैलीबाट आएका र देखिएका कमजोरीलाई समयमा नै सच्याउनु पर्ने बताए ।

उनले गलत तरिका र हर्कतले आम नागरिकलाई गलत सूचनामार्फत भ्रम पारेर संघीय लोकतान्त्रिक गणतन्त्रको उन्नत शासन प्रणालीलाई नकारात्मक रुपमा प्रस्तुत गर्ने कुरालाई सबैले सामुहिक रूपमा जवाफ दिन जरुरी रहेको बताए । कार्यवाहक प्रधानमन्त्री समेत रहेका खड्काले अर्थतन्त्रमा देखिएका सबैखाले समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताए । सरकारले चालेका कदमका कारण ब्याजदर घट्दो क्रममा रहेकाले लगानी बढ्ने अपेक्षा सरकारले गरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७