आईसीसी लिग–२ को पहिलो सिरिज नेपालमा, नेपालले नेदरल्याण्ड र नामिबियासँग खेल्ने


१५ मंसिर २०८०, शुक्रबार
nepali cricket
फाइल फोटो

काठमाडौं । आईसीसी विश्वकप लिग–२ को पहिलो सिरिज अन्तर्गतका खेल आगामी फेब्रुअरीमा नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले फेब्रुअरीमा हुने खेल नेपालमा हुने जनाएको छ ।

नेपालले आईसीसी विश्वकप लिग–२ को पहिलो सिरिज घरेलु मैदान आगामी फागुनमा खेल्ने निश्चित भएको छ । क्यानले नेपाल, नेदरल्याण्ड्स र नामिबियाबीच आगामी फागुन ५ (फेब्रअरी १७) देखि खेल सुरु हुने जनाएको छ । नेपालले दुवै टोलीसँग समान दुई खेल खेल्नेछ ।

यस पटकदेखि नेदरल्याण्ड्सले पनि लिग– २ नै खेल्ने छ । नेदरल्याण्ड्सले २०१९ देखि २०२३ सम्म १२ टेस्ट टोलीसँग सुपर लिग खेलेको थियो । तर सुपर लिगबाट नेदरल्यान्ड्सलाई लिग २ मा झारेको थियो । २०२७ सम्म चल्ने लिग–२ मा नेपाल, यूएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा छन् ।

खेल त्रिकोणात्मक सिरिजको रुपमा हुनेछ । सन् २०२७ को विश्वकप देखि १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । २०२७ को विश्वकप दक्षिण अफ्रिका, नामिबिया र जिम्बावेले आयोजना गर्नेछन् । २०२७ को विश्वकप ढाँचामा लिग–२ का खेलहरु पनि निर्भर हुनेछन् ।

यसअघि २०१९ देखि २०२३ सम्म चलेको लिग–२ मा नेपालले तेस्रो स्थानमा रहँदै जिम्बावेमा विश्वकप छनोट खेलेको थियो। यसअघिको लिग–२ मा शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाएका थिए । यो लिग–२ पनि २०२७ को विश्वकप छनोटको चरण हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७