प्रहरीको संरक्षणमा क्यासिनोमा नेपाली र प्रतिबन्धित भारु


०७:११ बजे

रुपन्देही : रुपन्देहीका क्यासिनोहरुमा निर्वाध रुपमा नेपाली नागरिकहरुलाई प्रवेश र प्रतिबन्धित भारतीय नोटको कारोबार हुने गरेपनि रुपन्देहीका एसपी भरतबहादुर विकले नियन्त्रणमा चासो नदेखाएको भन्दै प्रहरी मुख्यालयमा उजुरी परेको छ ।

जिल्लाको भैरहवा क्षेत्रमा मात्र होटल लाकोल, होटल निर्वाण, होटल नान्स, बोधी रेडसन होटल, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल, होटल मौर्यामा हाल क्यासिनो सञ्चालित छन् ।

यी क्यासिनोहरुमा नेपाली नागरिकहरुलाई प्रवेश दिइएको र नेपालमा एक सय रुपैयाँभन्दा माथिको प्रतिबन्धित भारतीय नोटको खुलेआम कारोबार हुने गरेपनि सेटिङका कारण एसपी विकले छापा नमारेको भन्दै उजुरी परेको स्रोतको भनाई छ ।

केही समयअघि भैरहवाको होटल निर्वाणामा रहेको निर्भाना लक्जरी क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाइरहेको सूचना आईजीपी बसन्त कुवँर समक्ष पुगेपछि उनले तत्काल लुम्बिनी प्रदेशका डिआइजी उमेशराज जोशीमार्फत् रुपन्देहीका एसपीलाई क्यासिनोमा छापा मार्न निर्देशन दिएका थिए ।

एसपी भरतबहादुर विक


तर, क्यासिनोबाट मासिक असुलीका कारण एसपी विकले छापा नमारेपछि डीआइजी जोशीले कारवाहीको चेतावनी दिएपछि नचाहँदा नचाहँदै पनि क्यासिनोमा छापा मार्दा केही नेपाली नागरिकहरु फेला परेपछि बाध्यताले पक्राउ गर्नुपरेको थियो । यस घटनाले पनि प्रहरी सेटिङमा भैरहवा क्षेत्रका क्यासिनोहरुमा नेपाली नागरिकहरुलाई सहजै प्रवेश गराएर जुवा खेलाउने गरेको पुष्टि हुन्छ ।

क्यासिनोबाट पक्राउ परेका नेपालीहरुलाई कारवाही नगरी छाड्न लाग्दा डीआइजी जोशीले पुनः कारवाहीको चेतवानी दिएपछि जुवा ऐन अनुसार मुद्दा चलाउनुपर्नेमा अभद्र व्यवहारको मुद्दा चलाई क्यासिनो संचालक र पक्राउ परेकाहरुलाई एसपी विकले राहत दिएका थिए । मासिक रुपमा रकम बुझेकै कारण विकले नुनको जोहो गरेको स्थानीय स्तरमा चर्चाको विषयमा बनेको थियो ।

भैरहवा क्षेत्रका क्यासिनो संचालकहरुले भारतीय नागरिकलाई लिनका लागि बेलहिया नाकासम्मै आफ्नो गाडी समेत पठाउने गरेका छन् । उक्त गाडी र त्यसमा बस्ने भारतीय नागरिकहरुको प्रहरीले सुरक्षा जाँच समेत गर्दैनन् । रकम बुझाएकै कारण क्यासिनोका गाडीहरु प्रहरीहरुको चेकप्वाइन्ट हँँुदै सहजै आउजाउ गर्ने गरेको स्थानीयहरु बताउँछन् ।

निर्देशन अनुसार क्यासिनोमा छापा मार्न त नखोजेका एसपी विकले ती गाडीहरुबाट सीमा क्षेत्रमा ठूलो मात्रा भारुको अवैध कारोबार हुने गरेपनि सुरक्षा जाँच समेत गर्न चाहँदैनन् । सीमापारीबाट आएका व्यक्तिहरुले क्यासिनो खेल्न जाने भन्दै गाडी बसेर विना कुनै चेकजाँच निर्धक्क सीमाको सुरक्षा जाँच पार गर्छन् ।

क्यासिनोमा नेपाली नागरिक प्रवेश गराउने र गाडीहरुबाट भारतीय रुपैयाँको अवैध कारोबार हुनेगरेपछि क्यासिनोका संचालहरुले अ–आफ्नो तर्फबाट एसपी विकको ‘मुखमा बुझो’ लगाईदिएपछि डीएसपीको कमाण्डमा रहेको सस्शत्र प्रहरीको डण्डा टोलीले होटल लाकोल र होटल नान्समा रहेको क्यासिनोको गाडी सीमानाकाबाट होटलतर्फ आउँदै गर्दा गाडी नियन्त्रणमा लिएर खानतलासी गरेपछि दश लाख बढी भारतीय रुपैयाँ (प्रतिबन्धित नोट) बरामद गरेको थियो ।

पछि क्यासिनो संचालकहरुले सशस्त्रको कमाण्डहरुको मुखमा पनि बुझो लगाइदिएपछि सीमा क्षेत्रबाट हाल क्यासिनोको गाडीहरुबाट निर्वाधरुपमा भारुको अवैध कारोबार भइरहेको समाचार स्रोतको भनाइ छ । ‘अहिले पनि क्यासिनोको गाडीहरुको जाँच र क्यासिनोमा छापा मार्ने हो भने एउटै क्यासिनोमा मात्रै लाखौँ रुपैयाँका प्रतिबन्धित नोटहरु फेला पर्छन्’ स्रोतले भन्यो, ‘तर, मासिक रकम असुलीकै कारण प्रहरी क्यासिनोमा पस्न समेत चाहँदैन ।’

एसपी विकले क्यासिनोबाट असुलीको विषय आईजीपी बसन्त कुवँरसम्म नपुगेको पनि होइन तर माओवादीको ट्याग लगाएर रुपन्देही पाएको एसपीको पावर अगाडि कुवँर समेत निरीह बनेका छन् । एसपी विकको विषयमा माथिल्लो निकायमा अधिक गुनासा/उजुरीहरुका कारण आइजी समेत आजित छन् ।

केही समयअघि देशभरका जिल्ला प्रमुखहरुको अनलाइन बैठकमै आईजी कुवँरले रुपन्देहीको एसपीलाई क्यासिनोबाट असुलीको विषयमा चेतावानी दिंदै सचेत गराएका थिए । तर, गृहमन्त्री नारायणकाजी श्रेष्ठको आशीर्वादका कारण उनले आफ्नै संगठन प्रमुखलाई टेरपुच्छर लगाएका छैनन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७