आफ्ना देशका महिलालाई रुसका राष्ट्रपतिको आग्रह : कम्तीमा आठ सन्तान जन्माउनू


१६ मंसिर २०८०, शनिबार
putin

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जनसंख्याको संकट टार्न एक जना महिलाले कम्तीमा आठ सन्तान जन्माउनु पर्ने बताएका छन् ।

पुटिनले आगमी केही दशकसम्म जनसंख्या बढाउने लक्ष्यसहित रुसी महिलाले बच्चा जन्माउने दर बढाउनु पर्ने बताएका हुन् । उनले अहिले पनि कैयौँ रुसी नागरिक सामुहिक परिवारमा विश्वास राख्ने बताउँदै अहिले पनि उनीहरूले चारदेखि पाँच सन्तान जन्माइरहेको जिकिर गरे । तर अब यो दरलाई बढाएर एक महिलाले आठ जनासम्म सन्तान जन्माउनु पर्ने पुटिनले बताए ।

पुटिनले आफूहरूका हजुरआमा, जिजुआमाहरूले ८ सन्तान जन्माएको बताउँदै अबको पुस्ताले पनि त्यसलाई निरन्तरता दिएर घट्दो जनसंख्यालाई सन्तुलनमा राख्नुपर्नेमा जोड दिएका हुन् । पुटिनले वर्ल्ड रसियन पिपुल्स काउन्सिललाई सम्बोधनका क्रममा सबै नागरिकले सामूहिक परिवारलाई आदर्श मान्नुपर्ने पनि उल्लेख गरे ।

राष्ट्रपतिले सम्बोधनका क्रममा सबै रुसी सार्वजनिक संस्थान र कार्यालयले पनि परम्परागत मान्यता, धर्म र सामुहिक परिवारको नीतिलाई बढावा दिनुपर्ने बताए । २० महिनादेखि युक्रेनसँग युद्ध गरिरहेको रुसका हजारौँ सैनिक मारिएका छन् । युद्धले युवा गुमाउनु परिरहेको अवस्थामा पुटिनको यो भनाइ आएको हो । विश्वकै ठूलो भूगोल भएको रूसको जनसंख्या जनवरी २०२३ सम्म १४ करोड ६४ लाख थियो । जुन जनसंख्या सन् १९९९ मा पुटिन पहिलो पटक राष्ट्रपति हुँदाको समय भन्दा कम हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७