‘एमालेले सरकार छोडेपछि देशको अवस्था के भयो ? देख्नु–बुझ्नु भएकै छ’ (तस्वीरहरु)


०७:३८ बजे

अछाम । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको बताएका छन् । आज (शनिबार) महाकाली–मेची अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले एमालेले सरकार छोडेपछि भ्रष्टाचार, तस्करी, मौलाएको दाबी समेत गरे । उनले सरकारले गुण्डागर्दी र अपराधीहरूलाई संरक्षण गरिरहेको आरोप लगाए । उनले अहिलेको अवस्थालाई परिवर्तन गर्न र देश विकास गर्न एमाले चाहिने भन्दै देशलाई अघि बढाउने कामको नेतृत्व एमाले बाहेक अरु राजनीतिक दलहरूले गर्न नसक्ने दावी गरे ।

‘म एमालेका नेता–कार्यकर्ताहरूलाई भन्न चाहन्छु, अहिले पनि अरु पार्टीमा अलमलिएर रहेका साथीहरूलाई नेकपा एमालेमा आमन्त्रण गर्नुस् । एमालेले सरकार छोडेपछि देशको अवस्था के भयो ? सबैले देख्नु भएको छ । बुझ्नु भएको छ । देश ओरालो लागेको छ, देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र यस्तो फैलिएको छ । भ्रष्टाचार, तस्करी, मौलाएको छ,’ उनले भने, ‘सरकारले गुण्डागर्दी र अपराधीहरूलाई संरक्षण गरेर त्यसको विकास भइरहेको छ । यस्तो अवस्थामा यस स्थितिबाट परिवर्तन गर्नका लागि हामीले देख्यौँ, नेकपा एमाले बाहेक अरु कुनै पार्टीले यो देशलाई अघि बढाउने कामको नेतृत्व गर्न सक्दैन ।’

अध्यक्ष ओलीले नेकपा एमालेको ध्येय नेपाल र नेपालीलाई समृद्ध बनाउने रहेको बताए । उनले समृद्ध नेपाल बनाउन सिंगै देशको विकास हुनुपर्ने उल्लेख गर्दै नेपाल जस्तो प्राकृतिक सुन्दरता, उर्वरता र खनिजहरूले सम्पन्नता भएको देश गरिब रहन नसक्ने जिकिर गरे ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७