चन्द्र भण्डारीलाई देउवाको सुझाव : भाषण जस्तै काम पनि गर्नुपर्छ

बुटवल । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीका नेता चन्द्र भण्डारीलाई भाषण जस्तै काम गर्न सुझाएका छन् । पार्टीको आज (शनिबार) बुटवलमा सुरु भएको लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले भण्डारीको भाषणको प्रसङ्ग उठाउँदै त्यस्तो सुझाएका हुन् ।

‘चन्द्र भण्डारीको भाषण हामीले सुनिसक्यौं, मैले पनि सुनें, अब उहाँको टाउकोमा है काम गर्ने जिम्मा । भाषण जस्तै काम गर्नुपर्छ,’ उनले भने । उनले आफूले कम बोल्न, काम बढी गर्न चाहिरहेको पनि बताए । उनले भने, ‘कम बोल्ने काम बढी गर्न खोजिरहेको छु हेरौं के हुन्छ ?’

कांग्रेस नेता भण्डारीले गत निर्वाचनमा पार्टी सभापति र नेतृत्वले गुटका आधारमा बाँडेर टिकट बाँड्दा कांग्रेसलाई ठूलो क्षति भएको बताएका थिए । ‘सभापति र पार्टी नेतृत्वले गत निर्वाचनमा उम्मेदवारको टिकट बाँड्दा गुटका आधारमा गरेर ठूलो गल्ती गर्नुभयो, यसले व्यक्तिलाई मात्रै होइन पार्टीलाई पनि ठूलो क्षति भएको छ, यसले कांग्रेस बलियो भएको छैन, अब त्यसो गर्दैनौं भनेर भन्नु पर्दछ ।’ भण्डारीको यही भनाइको जवाफ दिँदै सभापति देउवाले आफू भाषण गर्ने मान्छे नै नभएको बताएका थिए । उनले पार्टीका नेता–कार्यकर्ताबीच एकता कायम गर्ने र मनोमालिन्य घटाउन सके पार्टी बलियो हुनेमा जोड दिए ।
