रूसले सेनाको आकार १५ प्रतिशत बढाउने, तत्काल एक लाख ७० हजार थप्न पुटिनको निर्देशन


१७ मंसिर २०८०, आईतवार
russian army

काठमाडौं । रूसले सेनाको आकार बढाउने भएको छ । शुक्रबार रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले थप १ लाख ७० हजार सैनिक भर्ती गर्न निर्देशन दिएका छन् ।

रूस–युक्रेन युद्ध २२ औं महिनामा प्रवेश गर्दा शुक्रबार पुटिनको निर्देशन जारी गर्दै क्रेमलिनले तत्काल सैनिकको संख्या १५ प्रतिशत वृद्धि गर्ने प्रक्रिया सुरू गर्न भनेको हो । रूसको रक्षा मन्त्रालयले युक्रेनमा युद्ध र नाटोको निरन्तर विस्तारका कारण रूसमा बढ्दो खतराबीच तयारी अवस्थामा रहन यो कदम चालिएको बताएको छ ।

राष्ट्रपतिको उक्त निर्देशन तत्काल कार्यान्वयनको प्रक्रियामा जाने मन्त्रालयले बताएको छ । योसँगै युक्रेनविरूद्ध लड्ने रूसको सेनाको संख्या १३ लाख र कुल सैनिक संख्या २२ लाख पुग्ने सिएनएनले उल्लेख गरेको छ । रूस–युक्रेन युद्ध सुरू भएयता पुटिनले दोस्रो पटक सैनिको संख्या बढाउन निर्देशन दिएका हुन् । अघिल्लो वर्षको अगस्टमा पुटिनले १ लाख ३७ हजार सैनिक भर्ती गर्न निर्देशन दिएका थिए । रूसी सुरक्षा परिषद्का प्रमुख दिमित्री मेदवेदेवले सन् २०२३ को जनवरी १ देखि डिसेम्बर १ सम्म साढे ४ लाख नयाँ सैनिक भर्ती गरिएको दाबी गरेका छन् ।

युक्रेन युद्धमा मारिएका सैनिक संख्या भने रूसले गोप्य राखेको छ । गत वर्षको सेप्टेम्बरमा रूसी रक्षामन्त्री सर्गेई सोइगुले ५ हजार ९३७ रूसी सैनिकको मृत्यु भएको बताएका थिए । त्यसयता रूसले युद्धमा मारिएको सैनिकको तथ्यांक प्रस्तुत नगरेको सिएनएनले उल्लेख गरेको छ । बेलायतको रक्षा मन्त्रालयले अक्टोबरसम्म रूसका १ लाख ५० हजारदेखि १ लाख ९० हजार सैनिक युक्रेन युद्धमा मारिएको दाबी गरेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७