शिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, सँगै गएका ६ जना पक्राउ


०८:०८ बजे

दोलखा । दोलखामा शिकार खेल्न गएका एक युवकको गए राति भरुवा बन्दुकको छर्राले लागेर ज्यान गएको छ । युवकको मृत्यु भएपछि प्रहरीले उनीसँगै सिकार गएका ६ जनालाई पक्राउ गरेको छ ।

तामाकोशी गाउँपालिका–२ झुलेका २० वर्षीय सञ्जिव मिजारको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक खड्काले जानकारी दिए ।

‘मिजारले बोकेको भरुवा बन्दुक आफै पड्किँदा उनको मृत्यु भएको दाबी उनका साथीहरुले गरेका छन्,’ डीएसपी खड्काले भने, ‘उनका ६ जना साथीलाई नियन्त्रणमा राखेर हामीले घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाएका छौँ ।’ देब्रे छातीमा छर्राले लागेर गम्भीर घाइते भएका मिजारको तामाकोशी सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि राति नै उनलाई चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याउना साथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मिजारको शव अहिले पशुपति चौलागाईं सामुदायिक अस्पताल अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा तामाकोशी गाउँपालिका–३ का १६ वर्षीय कृष्ण नेपाली, सोही ठाउँका १८ वर्षीय रचेस मुग्राती, १५ वर्षीय सुमन तोलांगी, २२ वर्षीय माधव पोख्रेल, ४२ वर्षीय सञ्जिव पोख्रेल र तामाकोशी गाउँपालिका–२ झुलेका २५ वर्षीय अविदित कार्की छन् । सात जनाको समूह गए राति स्थानीय डाँडाबारी जंगलमा बन्यजन्तुको शिकार खेल्न गएका बेला घटना भएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७