ओली भन्छन्, ‘मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो’


१६:१० बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छेलाई मारेर चुनाव जित्ने कुरा घिनलाग्दो भएको बताएका छन् । मध्यपहाडी क्षेत्र केन्द्रित पार्टीको संकल्प यात्राका क्रममा आइतबार अछामको विनायकमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको बताए । उनले आफू सरकारमा रहँदा यस्ता कुरालाई हतोत्साही गरेको दाबी गरे । अहिलेको सरकारले भने हत्याराहरुलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने गरेको ओलीले आरोप लगाए ।

ओलीले भने, ‘२०७९ साल जेठ १७ गते विनोद शाही जस्ता होनहार युवाको जसरी हत्या भयो, त्यसको म विरोध गर्न चाहन्छु । अत्यन्तै घिनलाग्दो कुरा हो, मानिसको हत्या गर्नु, मानिसमाथि आक्रमण गर्नु, हत्याको संस्कृति आफू जस्तै मान्छेलाई मारेर एउटा मान्छे मारेर चुनाव जित्ने भनेको घिनलाग्दो कुरा हो। यो कुरा हामीमाथि पनि र संसदमा पनि भनिरहेका छौँ। सरकारमा हुँदा पनि यस्ता कुरालाई हतोत्साही गरेका छौँ । हामी सरकारमा हुँदा यस्ता कुरा हुन पाउँदैनन् । जब हामी सरकारबाट हट्छौँ तब विभिन्न हत्या, हिंसाका शिलशिला सुरु हुन्छ, जाली मुद्दा लगाउने, हत्यारा उम्काउने शिलशिला सुरु हुन्छ। अहिलेको सरकारले हत्याराहरुलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने, अहिले धमाधम अदालतले त्यस्ता मुद्दा फिर्ता लिन पाउँदैनौ, सजाय हुनुपर्छ भनेर फेरि जेलमा हालेको छ । म विनोद शाहीलाई शहिदको रुपमा घोषणा गर्दछु ।’

अध्यक्ष ओलीले चुनावकै विषयमा २०७९ साल जेठ १७ गते अछामका विनोद शाहीलाई बेपत्ता बनाइ हत्या गरिएकोमा खेद प्रकट गर्दै शहीद घोषणा गरे । स्थानीय तहको निर्वाचन अगाडि गत २०७९ जेठ १७ गते अछामको पञ्चदेवल विनायक नगरपालिकाको रिठा टोलमा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो। उक्त झडपका क्रममा शाही बेपत्ता भएका थिए । बेपत्ता भएका शाहीको ५ दिनपछि पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट १ किलोमिटर तल जंगलमा भेटिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७