नक्कली शरणार्थी प्रकरण : ६ जना आज छुट्दै, कारागार पुग्यो अदालतको पत्र

धरौटी बुझाउने पैसा नभएको टेकनाथको गुनासो, टोबहादुरका छोरा सन्दीप ‘बैंकिङ’ प्रक्रियामा


१७ मंसिर २०८०, आईतवार
bhutani

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा छुट्ने आदेश भएकामध्ये तीन जनाले धरौटी बुझाएको पत्र केन्द्रीय कारागार पुगेको छ । उच्च अदालत पाटनले शुक्रबार आदेश जारी गर्दै ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

हरिभक्त महर्जन, शमशेर मिया र नरेन्द्र केसीले धरौटी बुझाएका हुन् । यस्तै साधारण तारेखमा छाड्ने आदेश भएका आशिष बुढाथोकी पनि आइतबार नै छुट्दैछन् । रामशरण केसीले अदालतमा धरौटी बुझाउने तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ । सन्दीप रायमाझीको भने बैङ्क ग्यारेन्टी राख्ने प्रक्रियाका कारण आइतबार बुझाउने सम्भावना कम रहेको स्रोत बताउँछ ।

टेकनाथ रिजालले भने कुनै प्रक्रिया सुरू गरेका छैनन् । कारागार प्रशासन स्रोतका अनुसार उनले जेलमा रहेका कैदीबन्दीसँग धेरै ठूलो रकम धरौटी तोकेको भन्दै कहाँबाट ल्याउनु त्यत्रो पैसा ? भन्ने गुनासो गरेका छन् । यसअघि काठमाडौं जिल्ला अदालतबाट मुद्दा पुर्पक्षका लागि थुनामा गएकामध्ये नरेन्द्र केसी र शमशेर मियाँसँग १०-१० लाख तथा टेकनाथ रिजाल र हरिभक्त महर्जनसँग १५-१५ लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो ।

यस्तै सन्दीप रायमाझीलाई ३० लाख र रामशरण केसीलाई १५ लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश भएको हो ।
उनीहरू जिल्लाको आदेशविरुद्ध पुनरावेदन गर्दै उच्च अदालत पुगेका थिए । थुनामा रहेका ९ जनालाई भने उच्च अदालतले छाड्न मानेन । बालकृष्ण खाणको हकमा न्यायधीशबीच राय बाझिएपछि फेरि सुनुवाइ हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७