मन्त्री किराँतीको घोषणा : भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नेलाई पाँच लाख दिन्छौं


०८:०१ बजे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट नियमितरुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको पाँच लाख रुपैयाँ प्रोत्साहन रकम दिने तयारी भएको बताएका छन् ।

लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीसँग आइतबार मन्त्रालयमा भएको छलफलमा मन्त्री किराँतीले भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान जतिसक्दो छिटो गर्नेगरी गृहकार्य भइरहेको बताएका हुन् । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई इनामस्वरुप प्रत्येक उडानको ५ लाख रुपैयाँ दिने तयारी गर्दैछौं’, मन्त्री किराँतीले भने ।

नेपाल एशोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) को लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डल भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल गर्न दबाब दिँदै काठमाडौं पुगेको छ । उक्त प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री किरांतीले नेपाल वायु सेवा निगमको जहाज भैरहवा पठाउन र जसरी पनि अन्तर्राष्ट्रिय उडान गर्नुपर्छ भन्नेमा आफू पनि रहेको बताए ।

तर सरकारी ब्यवस्थापनमा समस्या भएमा निजी क्षेत्रसँग सहकार्य गरेर भए पनि उडान नियमित गर्ने उनले प्रतिवद्धता जनाए । राज्यको ४३ अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको गौतमबुद्ध विमानस्थल र विमानस्थल देखेर ६५–७० अर्ब लगानी गरेको निजी क्षेत्रको बारेमा सरकार चिन्तित रहेको समेत मन्त्री किरांतीले व्यवसायीसंग बताएका थिए ।

मन्त्रीसँगको छलफलमा पर्यटन व्यवसायीले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको थालनी तत्काल गर्न माग गरेका थिए । नाट्टा लुम्बिनीको तर्फबाट ९ बुँदे ज्ञापनपत्र बुझाउँदै निवर्तमान अध्यक्ष सागर अधिकारीले भैरहवाको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि नेपाल वयुसेवा निगमको जहाजले थालनी गर्नुपर्ने निजी क्षेत्रको माग रहेको बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७