दैलेख पुगेर ओलीले भने–देशको समृद्धिका लागि पेट्रोलियम पदार्थ उत्खननको विकल्प छैन


०७:०५ बजे

दैलेख । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखको दुल्लु पुगेर पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन गरेका छन् । एमालेले सुरु गरेको मेची महाकाली पदयात्राको क्रममा अध्यक्ष ओलीसहितका एमाले नेताहरु आज बिहान दुल्लु पुगेका हुन् । अध्यक्ष ओलीले दुल्लु भैरवी–१ स्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरी त्यससम्बन्धी आवश्यक जानकारी लिएका हुन् ।

अध्यक्ष ओलीले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त गर्न दैलेखमा भएको पेट्रोलियम पदार्थ उत्खनन गर्नुपर्ने बताएका छन् । ‘दैलेख पुरातात्विक महत्वको जिल्ला मात्रै होइन्, पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको जिल्ला पनि हो’, अध्यक्ष ओलीले भने, ‘हाम्रै (एमाले नेतृत्वको सरकारको) पालामा यसको थप खोज, अध्ययन र अनुसन्धानको काम अघि बढाउनु पर्छ भनेर अन्वेषणको कामका लागि टोली खटाएका थियौं ।’

अन्वेषणको कामका लागि खटाइएको चिनियाँ टोलीको निचोडका बारेमा अन्वेषण विभागको टोलीसँगको ब्रिफिङ गरेपछि अध्यक्ष ओलीले देशलाई समृद्धिको मार्गमा ल्याउन पेट्रोलियम पदार्थको उत्खननले ठूलो भूमिका खेल्ने बताए । दैलेखको जलजलेमा भएको पेट्रोलियम अन्वेषण स्थलमा अध्यक्ष ओली नेतृत्वको हाइकमाण्डलाई जानकारी दिँदै खानी तथा भूगर्व विभागका अन्वेषण परियोजना प्रमुख दिनकुमार नापीतले चिनियाँ अन्वेषण टोलीले पेट्रोलियम पदार्थको राम्रो संभावना भएको निचोड निकालेको बताए । नापितका अनुसार उत्खनन् गर्दा पहिलो तेल ३५ सय देखि ४ हजार मिटरसम्म देखिएको छ ।

उत्खनन् टोलीको प्रतिवेदन अनुसार उत्खनन् गर्दा दोस्रो तहमो ग्याँसका रेखाहरु देखिएको छ । अध्यक्ष ओलीले श्रीस्थान मन्दिरको पनि दर्शन गरेका छन् । एमालेले सुरु गरेको ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत दिउँसो सुर्खेतको पार्टी कार्यालय परिसरमा जनसभाको आयोजना गरेको छ । जनसभामा अध्यक्ष ओलीसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । उनले आज दैलेखको पर्यटकीय क्षेत्र गुरास गाउँपालिकामा पनी अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७