नवराज विकको मुद्दामा सुनुवाइ : दोस्रो दिन पीडित पक्षका वकिलले बहस गर्दै


०७:३४ बजे

काठमाडौँ । अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा अन्तिम सुनुवाइ आज (सोमबार) दोस्रो दिन पनि सुरु भएको छ । सुनुवाइ सोमबार बिहान ११ बजेदेखि रुकुम जिल्ला अदालत (रुकुम पश्चिम) मा सुरु भएको सूचना अधिकारी गोविन्द कोइरालाले जानकारी दिए ।

उक्त मुद्दाको अन्तिम सुनुवाइ न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासमा भइरहेको छ । सूचना अधिकारी कोइरालाका अनुसार आज पीडित पक्षका बाँकी पाँच वकिलले बहस गर्नेछन् । ‘हिजो वादी पक्षका नौं जना वकिलले बहस गर्नुभयो । आज पनि जाहेरी पक्षका बाँकी पाँच वकिलले बहस गर्नेछन् । त्यो सकिएपछि प्रतिवादी पक्षका वकिलहरूले पनि बहस गर्नुहुन्छ,’ कोइरालाले भने ।

दुवै पक्षका गरेर कुल २२ जना वकिल भएको उनले जानकारी दिए । बहस धेरै लामो समय नगएको अवस्थामा सुनुवाइ भोलि मंगलबारसम्ममा सकिने उनले जानकारी दिएका छन् । आज सुरुमा जाहेरवालाको तर्फबाट उच्च सरकारी वकिल कार्यालय सुर्खेतका निमित्त न्यायाधीवक्ता डम्बरप्रसाद कार्कीले बहस गर्नेछन् ।

१० जेठ २०७७ सालमा जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीसहित मल्ल थरकी प्रेमिकासँग विवाहको कुरा गर्न रुकुम पश्चिमको चौरजहारी पुगेका थिए । दलितले ठकुरीकी छोरीको हात माग्न आएको भन्दै गाउँलेहरूले विकसहित उनका साथीहरूलाई लखेटी लखेटी हत्या गरेका थिए । उक्त घटनामा ६ जनाको हत्या भएको थियो ।

उक्त घटनामा चौरजहारीको सोती गाउँका ३४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको सजाय मागदाबी गरिएको छ । यो घटनाका अभियुक्तमध्ये २३ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो भने २ जना बालकसहित ११ जनालाई तारेखमा छोडिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७