विप्लव–प्रकाण्डलगायतलाई पक्राउ पुर्जी गर्नु गलत भयो : प्रधानमन्त्री


१८ मंसिर २०८०, सोमबार
prachanda media scaled
तस्वीर : प्रदीपराज वन्त / रासस

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

आज (सोमबार) सिंहदरबारमा आयोजित केही सञ्चारमाध्यामका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले विप्लवसहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गरेका हुन् । ‘जे भयो गलत भयो । सरकारले विप्लवहरुसँग सम्झौता गरिसकेको छ । सहमति गरेर उनीहरु शान्ति प्रक्रियामा आइसकेका छन् । शान्तिपूर्ण राजनीतिमै भएको हुनाले उनीहरुलाई फेरि फर्काएर अप्ठ्यारो पार्न हुँदैन । सबै बुझेर थप कुरा पछि आउँछ’ प्रधानमन्त्रीले भने ।

गत मंसिर १० गतेको आदेशअनुसार अदालतले विप्लवसहितका शीर्ष नेतालाई सोमवार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८(१३) ३५ दिनको पक्राउ पुर्जी जारी गरेको छ ।

विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश ओली, माइला लामा, राजु कार्की विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको हो । विप्लव समाजवादी मोर्चामा सहभागी छन् । २०७४ को निर्वाचनअघि राज्यविरुद्ध भूमिगत विद्रोह गरेको नेकपाले २०७६ साल फागुनमा सरकारसँग सम्झौता भएपछि शान्तिपूर्ण राजनीतिमा आएको हो । सम्झौताबमोजिम मुद्दा फिर्ता लिन नेकपाका नेताहरू सरकारलाई लगातार दबाब दिँदै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७