गठबन्धन सरकारका कारण देश इतिहासमै कमजोर बन्यो : ओली (तस्वीरहरु)

‘एमालेमा लागेको ग्रहण सकिएको छ’


१८ मंसिर २०८०, सोमबार
1 1

सुर्खेत । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा मनपरि भइरहेको आरोप लगाएका छन् ।
पार्टीको मध्यपहाडी लोकमार्ग यात्रामा सहभागी भएका ओलीले सोमबार सुर्खेतमा भएको सन्देश सभालाई सम्बोधन गर्दै गठबन्धनको वर्तमान सरकारका कारण देशको राष्ट्रियता कमजोर भएको बताए ।

2 2

उनले देशको कमजोर बनेको स्वतन्त्रता र सीमा रक्षाका बारेमा सरकार चुकेको बताए । अहिले इतिहासमै आर्थिक रूपमा देश कमजोर बनेको ओलीले बताए । ‘देश अहिले इतिहासमै कमजोर अवस्थामा पुगेको छ, देशलाई भ्रष्टाचार, घुसखोरी, कमिशनतन्त्रको जालोले छोपेको छ,’ एमाले अध्यक्ष ओलीले भने, ‘देशको सामाजिक अवस्था निकै डरलाग्दो भएर अघि बढ्दैछ, तर सरकार कानमा तेल हालेर बसेको छ ।’

3 1

उनले सत्ता गठबन्धन दलहरूले देशमा विभाजन ल्याउने काम गरेको आरोप लगाए । भूगोलका हिसाबले नेपालजस्तै अरू देश समृद्ध बनेको बताउँदै उनले एमालेले भूगोलको अध्ययन गरी समृद्धिको मार्ग पहिल्याउन अहिलेको अभियान चलाएको बताए । अध्यक्ष ओलीले देशको स्वाभिमान, अस्तित्व रक्षा र समृद्धिको लागि सरकारमा एमालेको नेतृत्व खाँचो रहेको औल्याए ।
‘एमालेमा लागेको ग्रहण सकिएको छ’
अध्यक्ष ओलीले पार्टीमा लागेको ग्रहण सकिएर फेरि उदाएको दावी गरेका छन् । उनले एमाले सिध्याउनेहरु आफै बाहिरिएको बताए । ‘कहिले–कहिले सूर्यलाई पनि ग्रहण लाग्छ, हाम्रो पार्टीलाई पनि ग्रहण लागेको हो,’ मध्यपहाडीको यात्राबाट भित्री मधेशको सुर्खेत झरेर ओलीले भने, ‘ग्रहण सधैं लाग्दैन्, फेरि सूर्य घर्घराउँदो भएर निस्किएको छ ।’

4 1

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम नलिएर उनीहरुलाई ‘गोमनसाप’ को संज्ञा दिए । ‘दुई तिहाइमा पुर्‍याएको पार्टी सिध्याउन खोजे, सरकार ढाले, पार्टी फुटाए, सबै ठाउँबाट एमालेलाई हटाउन षड्यन्त्र गरे,’ उनले भने, ‘घरभित्रै पालिएका गोमनसापहरु आफैले बालेको धुवाँमा परेर बाहिर निस्किएपछि एमालेमा लागेको ग्रहण पनि सकिएको छ ।’

5 1

एमाले अध्यक्ष ओलीले मिसन–८४ सफल पार्न नेता तथा कार्यकर्ताहरुलाई अहिलेदेखि नै सक्रियताका साथ लाग्न निर्देशन दिए । ‘वडादेखि केन्द्रसम्म एमालेको पूर्ण बहुमतको सरकार बनाउन अहिलेदेखि नै सक्रियताका साथ लाग्नुहोस्,’ उनले भने, ‘जनतालाई परिचालित गर्न पहिले आफै सक्रिय हुनुहोस् ।’ उनले एक वर्षमै वर्तमान सरकार थोत्रो भइसकेको टिप्पणी गरे। ‘बनाउन त पाँच वर्षका लागि भनेर जनताले भोट दिएका हुँदा हुन्,’ उनले भने, ‘नीति, कार्यक्रम, विचार र काम हुँदा यो सरकार एक वर्षमै अशक्त र थोत्रो भएको छ ।’

6
7 1
8 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७