पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा


१९ मंसिर २०८०, मंगलवार
Biplaw samajbadi morcha bup0twal scaled
फाइल फोटो

काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महासचिवलगायतका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै तीन दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । पक्राउ पुर्जीविरुद्ध आज साँझ साढे ५ बजे मशाल जुलुस, २० गते दिनको ३ बजे न्यायाधीशको पुत्ला दहन र मंसिर २१ गते २ बजे देशव्यापी जनप्रदर्शनको कार्यक्रम घोषणा गरेको छ ।

काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा व्यूताएर सोमबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी, पीवीएम माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । अदालतको उक्त आदेश २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र नभई देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला भएको नेकपाको ठहर छ ।

राज्यको जिम्मेवार निकाय अदालतमा बसेको न्यायधीशले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको भर्त्सना गरेको छ । साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गरेको छ । विज्ञप्तिमा भनिएको छ ,‘आम नागरिकलाई थाहा छ कि प्रतिबन्ध हटाउदा राज्यसँग गरिएको ३ बुँदे सहमति मध्य एउटा बुँदा पार्टी नेता कार्यकर्ता माथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दी कमरेडहरुलाई मुक्त गर्नेछ । राज्यका सहमतिलाई कानूनको अंग बनाएर समस्याहरुलाई समाधान गर्न मद्दत गर्नु पर्ने मुख्य अङ्ग अदालतले नै गैरकानूनी कदम चाल्नु भनेको देशमा शान्ति भाड्न अदालत र न्यायधीश नै सक्रिय बनेको त होइन भन्ने आशंका पैदा भएको छ ।’

अदालतको गैरजिम्मेवार कार्यप्रति सरकार, राजनैतिक दलहरु, बुद्धिजीवी, मानवधिकारवादी, युवा विद्यार्थी, श्रमिक जनताको ध्यान पुयाउन साथै ३ बुंदे सहमतिलाई यथाशिघ्र लागु गर्न, मुद्दाहरु खारेज गर्न र बन्दी कमरेडहरु मुक्त गर्न सरकार गम्भीर बन्न आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७