सोती हत्याकाण्ड : वडाध्यक्ष मल्लसहित २४ जनालाई जन्मकैदको फैसला


०७:३२ बजे

काठमाडौं । रुकुम पश्चिमको चर्चित सोती हत्याकाण्डमा संलग्न एक वडाध्यक्षसहित २४ जनालाई जन्मकैदको सजाय भएको छ । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या घटनामा जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्कबहादुर केसीको इजलासले आज (मंगलबार) थुनामा रहेका २४ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

सजाय पाउनेहरूमा वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगर छन्। त्यसैगरी एकजना नाबालकलाई पनि जन्मकैदको सजाय भएको छ । यो मुद्दामा अदालतले अन्य आठजनालाई भने सफाइ दिएको छ ।

हत्या गरिएका नवराज बिककी प्रेमिका, उनकी आमा र दाजुलाई भने जातीय छुवाछुतमा दुई वर्ष कैदको फैसला भएको अदालतकी स्रेस्तेदार मन्दिरा शाहीले जानकारी दिइन् । ६ युवाको सामूहिक हत्या गरिएको उक्त मुद्दामा ३४ जनालाई प्रतिवादी बनाइएको थियो । जाहेरवाला र सरकारी वकिलतर्फका १५ र प्रतिवादीतर्फका ६ वकिलले बहस गरेका थिए ।

२०७७ जेठ १० मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा पर्ने सोतीमा ६ जना युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका नवराज र उनका साथीहरूको समूहलाई सोतीका स्थानीयले कुटपिट गरेर गरी सेती नदीमा बगाइदिएको आरोपमा नेपाल सरकारले ३४ जनाविरुद्ध मुद्दा चलाएको थियो ।

प्रेमिका भनिएकी किशोरीले हत्या भएको स्थानमा नपुगेको बयान दिए पनि निजकै कारण घटना भएको भन्दै प्रेमिका भनिएकी किशोरीमाथि समेत कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतमा मुद्दा चलाइएको छ । २०७७ साल जेठ ३२ मा रुकुम पश्चिम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको संख्या बढी हुँदा सुनुवाइमा लामो समय लागेको हो ।

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो । पदमबहादुर बुढा, शोभे नेपाली लगायतको जाहेरीका आधारमा प्रहरी अनुसन्धान भइ नेपाल सरकारले ३४ जनालाई ज्यान मारेको मुद्दामा जन्मकैद, जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभावको कसुरमा तीन वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिबाना तथा ज्यान मार्ने उद्योगमा संलग्नहरूको हकमा १० वर्षसम्मको कैद सजायको माग दाबी लिइएको छ ।

नवराज दलित केटा भएकाले पटकपटक घरमा आउने गरेको कुरा परिवारका सदस्यहरूलाई मन नपरेको र आएमा मारिदिनेसम्मको योजना घरमा बनेको बयान नवराजकी पे्रमिका भनिएकीका दाइले दिएका थिए । प्रेमिकाले भने पहिले दलित भन्ने थाहा नभएको तर पछि दलित रहेको थाहा पाएपछि सम्बन्ध तोड्न चाहेपनि आफूसँग विवाह गर्न दबाब दिएको बताएकी थिइन् ।
कस–कसलाई थियो अभियोग ?
सौरभ पुन
तुलाराम घर्ती
रेशम बहादुर मल्ल
रमित पुन मगर
दीपेन्द्र चन्द
तुल बहादुर मल्ल
सन्तोष मल्ल
डम्बरबहादुर मल्ल (वडाअध्यक्ष)
प्रेमबहादुर ठकुरी
विनोद मल्ल,
सर्वजित भन्ने सविन पुन
टोपबहादुर मल्ल
डिल्ली घर्ती
भीमबहादुर पुन
इन्द्रबहादुर मल्ल
तिलक चन्द
क्वापे भनिने लोकेन्द्र घर्ती
नेत्रबहादुर मल्ल
विराज पुन मगर
विष्णु मल्ल
मोहन पुन मगर
मानबहादुर मल्ल
भीमबहादुर बुढा
हर्कबहादुर मल्ल
इन्द्र बहादुर भन्ने इर्दबहादुर ठकुरी
धनाराज राना
डिल्ली मल्ल ठकुरी
नवीन कुमार घर्ती मगर
लिपेन्द्र कुमार मल्ल
तीन जना नाबालाकरू

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७