नेपालीलाई रुसी सेनामा पठाउने पूर्व सुरक्षाकर्मीसहित १२ जनालाई गरियो सार्वजनिक

प्रहरी भन्छ–लहरो लामो छ, तानिँदै जान्छ


२० मंसिर २०८०, बुधबार
russia taskar

काठमाडौं । अवैधरूपमा नेपालीलाई रुसी सेनामा पठाउने १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौंको विभिन्न क्षेत्रबाट पक्राउ गरेका उनीहरूलाई आज (बुधबार) काठमाडौं प्रहरी परिसरले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, काठमाडौं जोरपाटीका २७ वर्षीय सन्तोष रोका, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, काठमाडौंका २३ वर्षीय रोजल महर्जन, काठमाडौं बुढानिलकण्ठका ३१ वर्षीय क्षितिज गिरी र सिरहाका १९ वर्षीय दिपेन परियार छन् ।

त्यस्तै काभ्रेका २९ वर्षीय सुबास लामा, चितवनका २५ वर्षीय गोकर्ण अर्याल, बाराका २४ वर्षीय सन्तोष नेपाल, ओखलढुंगाका २५ वर्षीया सुजाता दाहाल, लमजुङका ३५ वर्षीय ईश्वर अधिकारी र दाङका ३८ वर्षीय द्रोण डाँगी छन् । पक्राउ परेकामध्ये सुजाताको कार्यालयबाट १४ लाख १८ हजार ५ सय नगद र २७ थान पासपोर्ट बरामद गरिएको छ भने ईश्वर अधिकारीको कार्यालयबाट १३ लाख ४२ हजार नगद, १६ थान पासपोर्ट, एक थान ल्यापटप, एक थान प्रिन्टर र ७ थान मोबाइल बरामद गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्रबहादुर खत्रीले जानकारी दिए ।

पक्राउ परेकामध्ये हरिबहादुर विश्वकर्मा, सुजाता दाहाल र गोकर्ण अर्याल माथिल्लो तहका एजेण्ट रहेको प्रहरीको भनाइ छ । उनीहरूले सामाजिक सञ्जालसहित विभिन्न माध्यमबाट राम्रो आम्दानीको प्रलोभन देखाएर रुस पठाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पूर्व सुरक्षाकर्मी समेत रहेका हरि एक्लैले हालसम्म १८ जनालाई रुस पठाएको पाइएको एसएसपी खत्रीले जानकारी दिए । उनीमार्फत् थप ११ जना रुस जाने क्रममा रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पीडितहरूले ७ देखि १२ लाख रुपैयाँ तिरेर रुस जाने गरेको प्रहरीको भनाइ छ ।

रुस पठाइएका अधिकांश भिजिट भिसामा युएई गएको र त्यहाँबाट रुस पठाइएको पाइएको छ । कतिपय भारतको बाटोबाट स्थलमार्ग हुँदै पनि रुस जानेहरू भेटिएको एसएसपी खत्रीले बताए । उनले अहिलेको पक्राउ परेकाहरूको संख्या प्रारम्भिक रूपमात्र भएको बताए । लहरो विस्तारै तानिँदै जाने उनको भनाइ छ । ‘अहिले पक्राउ परेकाहरू संख्या प्रारम्भिक रूपमात्र हो । योभन्दा बिग्गर पिक्चर आउन बाँकी छ । प्रहरीले त्यसको अनुसन्धान गरिरहेको छ,’ एसएसपी खत्रीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७