विराटनगरको आगलागी : मृत्तकको संख्या दुई पुग्यो, चार घाइतेलाई काठमाडौं लगियो


२० मंसिर २०८०, बुधबार
fire biratnagar resque

मोरङ । मोरङको विराटनगरस्थित एक कवाडी गोदाममा भएको आगलागीमा परी दुई जनाको ज्यान गएको छ । आगलागीमा परेर एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

आगलागीमा परेर विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएको हो । जलेर मृत्यु भएको अवस्थामा एक जना महिलाको शव घटनास्थलमा फेला परेको छ । मृतकको पहिचान खुलेको छैन । उद्धारकर्ताहरुका अनुसार आगलागी भइरहेको गोदामभित्र आगोले जलिरहेको देखिन्थ्यो । चिच्याइरहँदा पनि आगो नियन्त्रणमा समस्या भएपछि उद्धार गर्न नसक्दा जलेर त्यहीँ मृत्यु भएको हो ।

fire biratnagar

दिउँसो २ः१५ बजेदेखि लागेको आगो ५ बजेतिर नियन्त्रणमा लिइएको छ । विभिन्न ठाउँबाट आएका दमकलको सहयोगमा स्थानीय, प्रहरी र सेनाले आगो नियन्त्रणमा लिएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा बुधबार दिउँसो २ः१५ बजेतिर आगलागी सुरु भएको हो । आगलागीमा परेकामध्ये पाँच जनालाई उद्धार गरेर उपचारका लागि लगिएको थियो । तीमध्ये दीपकको उपचारका क्रममा मृत्यु भएको दाहालले बताए ।

आगलागीमा परेर विराटनगर–६ की अन्दाजी ६० वर्षीया रीता सरदार, अन्दाजी ६५ वर्षीय सुशीला पासवान, ५८ वर्षीय किशोर कामत र मोरङको कटहरी गाउँपालिका–६ की अन्दाजी ३० वर्षीया पिंकी कामत घाइते भएका छन् । आगोले जलेर घाइते भए हुनेमध्ये रीता र सुशीलाको अवस्था गम्भीर छ । घाइते चार जनालाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत् घाइतेलाई काठमाडौं लगिएको हो । आगलागीको कारण र क्षतिको विवरण आइसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७