‘काण्ड’ लागेपछि प्रधानसेनापति बन्न नपाएका जर्नेल पाण्डे विदेश उड्दै


०७:३४ बजे

काठमाडौं । भावी प्रधानसेनापतिका लागि रथीमा बढुवा सिफारिस भएका ताराध्वज पाण्डे कुर्सीका लागि बुट बजार्न थाल्दा थाल्दै राजीनामा लेखेर घर हिड्नु पर्‍यो । आउने ०८१ सालको भदौमा प्रधानसेनापति प्रभुराम शर्मा अनिवार्य अवकाश भएपछि उक्त कुर्सी र फुलीको हकदार दावी गरेका पाण्डेको उमेर गड्बडीले उनको सपना पुरा हुन दिएन । प्रधानसेनापति बन्ने बाटो बन्द भएपछि पाण्डे तनाव शान्त पार्न अष्ट्रेलिया उड्ने तयारीमा छन् ।

पाण्डेको उमेर कीर्तेको विवादले चिप्लिएको आगामी प्रधानसेनापतिको दर्जा अब अशोक सिग्देलले पाउने लगभग पक्का जस्तो देखिएको छ । उनीपछिको दोस्रो हैसियतमा निर्मल थापा र तेस्रोमा बाबुराम श्रेष्ठ छन् । त्यसबीच हिरालाल जोशी र सन्तोष ढकालले उमेरका कारण घर जानुपर्ने अवस्था छ । सन्तोषको बीचमा म्याद थपिएको थियो भने बाबुराम पूर्णचन्द्र थापाले दुःख दिएर ढिलो बढुवा भएको फाइदास्वरुप तीनतारे जर्नेल हुँदैछन् । अहिले राष्ट्रिय सुरक्षा परिषदमा कार्यरत हिरालालको म्याद थपियो भने बैशाख र थपिएन भने यही मंसिर–पुसमा घर जान्छन् ।

आगामी प्रधानसेनापतिको रोलक्रममा रहेका अशोक सिग्देलको हकमा ताराध्वजको जस्तो समस्या नभएको बताइने गरिएको छ । यता जङ्गी अड्डाले भने व्यक्तिगत स्वार्थका लागि संगठनको हित विपरित मिडियाबाजी गरिए कारवाही हुने चेतावनी दिएको छ । ताराध्वजको शैक्षिक प्रमाणपत्रमा उमेरको विषयलाई लिएर बाहिरफेर गाइँगुँइँ चल्दा हत्तपत्त विज्ञप्ति निकाल्दै सेनाले उनको बचाव गरेको थियो ।

यसरी उनको पक्षमा जंगी अड्डा नै उभिएपछि उजुरकर्ताहरु अख्तियारदेखि संसदीय समितिसम्म पुगेका थिए । तर, जब ती निकायले रक्षा मन्त्रालयमार्फत ताकेता बढाउन थाले, तब ताराध्वज खुसुक्क राजीनामा लेखेर सुरक्षित अवतरणको बाटो रोजे । पाण्डे सेनाको इतिहासमै पहिलोचोटि चिफ हुने संघारमै शैक्षिक प्रमाणपत्र काण्ड लागेर हत्तपत्त राजीनामा दिनुपर्ने स्थितिमा पुगे ।

सेनामा पूर्णचन्द्रकै कार्यकालमा शैक्षिक प्रमाणपत्रको मामिलालाई कडा बनाइएको थियो । विदेशका विभिन्न शैक्षिक संस्थामा अनलाइन परीक्षा दिएका जर्नेलहरु नयनराज दाहाल, शैलेन्द्रसमशेर थापालाई यही निहुँमा कुनै मौका दिइएन । दिपेशजंग शाहमात्रै त्यस्तो भाग्यमानी हुन्, जसलाई अनलाइनबाट पढेर ल्याएको सर्टिफिकेटकै आधारमा ब्रिटेनमा एनडिसी कोर्ष गर्ने मौका मिल्यो ।

सेनाले शैक्षिक विषयमा जेजस्तो विवाद भए पनि त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गथ्र्यो । भारततिरका विश्वविद्यालयको प्रमाणपत्र भए पनि सोध्ने काम चाहिँ त्रिविसँगै हुन्थ्यो । त्यसो गर्दा विगतमा कतिपय जर्नेल ‘सेटिङ मिलाएर’ ले सुरक्षित भए । तर, पूर्णचन्द्रको कार्यकालमा अपरेशन नै चलाएझैँ अहिलेका प्रधानसेनापति प्रभुराम शर्माकै नेतृत्वमा एउटा टोली सम्बन्धित सीमापारिका विश्वविद्यालयहरुमा पुगेको थियो । त्यस्तो छानवीनपछि प्रभुरामकै सम्धी देव सुवेदीदेखि अनुज बस्नेतहरु काण्ड लागेर घर गए । पूर्व प्रधानसेनापति रुक्मांगतका छोरा सुभांगत कट्वाल, अमरसिंह थापा, शैलेन्द्रसमशेर थापालगायत १२–१५ जना सहायक रथी र उपरथीहरु पनि परे ।

अहिले त्यस्तै काण्ड लागेर मुखको गाँस खोसिएपछि प्रधानसेनापति बन्न नपाएका ताराध्वज नेपालमै बस्ने मनस्थितिमा छैनन् । यस विषयमा उनले मुख खोलेका छैनन् । यसैबीच उनी अष्ट्रेलियामा रहेकी कान्छी छोरी भेट्ने त्यता जाने तयारी गरिरहेको चर्चा चल्न थालेको । जेठी छोरी अमेरिकामा छिन् । उनको विवाह एकतारे जर्नेल याम सापकोटाका छोरासँग भएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७