एसीसी–१९ वर्षमुनिको एशिया कप आजदेखि, पाकिस्तानसँग भिड्दै नेपाल


२२ मंसिर २०८०, शुक्रबार
cr 1

काठमाडौँ । एसीसी–१९ वर्षमुनिको एशिया कप आज (शुक्रबार) देखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरु हुँदैछ ।
प्रतियोगिताअन्तर्गत नेपाली टोलीले पहिलो खेलमा आज पाकिस्तानसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे शुरु हुनेछ ।

आजै अर्काे खेलमा अफगानिस्तान र भारत पनि खेल्दै छन् । प्रतियोगितामा नेपालसहित आठ देश सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन् ।

नेपालको १९ वर्षमुनिको टोलीको इतिहासमा भारत, न्युजिल्याण्ड जस्ता टेस्ट टोलीलाई पराजित गरेको छ । सन् २०१७ मा नेपालले भारतलाई हराएको थियो । तर अहिलेसम्म नेपाल एशिया कपको फाइनलमा पुग्न सकेको छैन ।

नेपालका मुख्य प्रशिक्षक जगत टमाटाले भारत र पाकिस्तानसँग खेल्न निकै उत्साहित रहेको बताएका छन् । नेपालले दोस्रो खेल पर्सी (आइतबार) अफगानिस्तानसँग र तेस्रो खेल २६ गते भारतसँग खेल्नेछ । मंसिर २९ गते सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता तथा समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता खेल्ने छन् । सेमिफाइनलमा पुग्न कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७