हिरासतमुक्त हुँदै आचार्य श्रीवासले भने–मैले गल्ती बोलें भन्दिनँ, तर आवाज चर्को भएकै हो


२२ मंसिर २०८०, शुक्रबार
A 2

काठमाडौं । मेडिकल व्यावसायी तथा गणतन्त्रविरोध अभियान्ता दुर्गा प्रसाईंले आह्वान गरेको आन्दोलनमा सहभागी हुँदा पक्राउ परेका हिन्दू धर्मगुरु आचार्य श्रीनिवास ११ दिनपछि प्रहरी हिरासतबाट छुटेका छन् ।

छुटे लगत्तै फेसबुक लाइभमा आएर उनले आफूलाई हिरासतमा गुरुको मर्यादा दिएर सम्मानपूर्वक राखिएको भन्दै प्रशासनप्रति आभार प्रकट गरेका छन् । आन्दोलनमा आफूले बोलेको भाषा चर्को भएको भनेर प्राप्त सुझावहरुलाई मनन गरेको भन्दै उनले अबका दिनमा यसमा सुधार गर्ने तर हिन्दू राष्ट्रको अभियानबाट पछि नहट्ने अठोट व्यक्त गरेका छन् ।
यस्तो थियो आचार्य श्रीनिवासको भनाइ
म ११ दिनपछि आज छुटें । उहाँहरुले मलाई गुरुको हिसाबले सम्मानित ढंगबाट सुविधाहरु उपलब्ध गराउनु भयो । नजरबन्द होइन जस्तै गरेर राख्नु भयो । म यसका लागि कारागार प्रशासनलाई धन्यवाद दिन चाहन्छु । कतिपय भक्तजनले गुरुको स्वर अलि कडा भयो भन्नु भएको छ । त्यो सही पनि हो । म अलिकति चर्को आवाजमा प्रस्तुत भएकै हो । त्यो आवश्यक पनि थियो । चर्को आवाजमै बोल्नुपर्ने थियो । यद्यपि, मैले सुझावहरुलाई मनन गरेको छु । चर्को आवाजलाई नरम बनाउनेतर्फ ध्यान दिनेछु । तर, मेरो अभियानमा भने उत्तिकै समर्पित छु । यसबाट पछि हट्दिनँ ।

चाहें भने म पनि पुराण मात्रै भनेर, माग्दै पनि हिँड्न सक्थें होला । तर, म धनका लागि र आफ्नो व्यक्तिगत स्वार्थका लागि धार्मिक कार्य गर्दिनँ । म गौमाताको रक्षाका लागि, हिन्दू राष्ट्रका लागि रात दिन लागिरहनेछु । म हजुरहरुको शीर झुक्ने गरी कुनै काम गर्ने छैन । सबैलाई समेटेर जानुपर्छ, एक्लै होइन भनेर धेरैले सुझाव दिनुभएको छ । त्यसलाई पनि शीरोधार्य गर्नेछु ।

मैले आक्रोशमा, आवेशमा बोलेको हो । आफ्नै आँखा अगाडि गौहत्या भएको सहन सकिनँ । ८४ प्रतिशत हिन्दू भएको देशमा यस्तो ज्यादति गर्दा असैह्य भएको हो । गौमाताको हत्या र देश धर्मनिरपेक्ष गराएर विदेशी धर्म लादेकोमा धेरै चित्त दुःखेको छ । त्यही भएर प्रधानमन्त्री र राष्ट्रपतिमाथि खनिएकै हो । मैले गल्ती बोलें भन्दिनँ । तर, आवाज चर्को भएकै हो । यसलाई मिनिमाइज गरेर सुधार गर्दै लैजानेछु ।

यो एजेण्डामा मलाई थुनोस् कि गोली हानोस् कि पक्रेर राखोस्, परवाह छैन । मेरो गल्ती थियो भने मलाई जेलमै सडाइन्थ्यो होला । मेरो मोबाइलदेखि बैंक एकाउन्ट के हेरेनन् ? फागुन ६ गतेसम्म निकाल्नु हुँदैन भनेर हिजोसम्म गृह मन्त्रालयमा बैठक थियो । तर, ईश्वरको कृपाले छुटें ।

म प्रशासनसँग डराएको छैन । प्रशासनले मलाई कस्टडीमा राखेर पनि तिलक चन्दन जपतप गर्न दियो । गुरु भनेर आफ्नो दर्जामा ससम्मान राख्यो । कुनै टर्चर र पीडा दिएन । मैले हिरासतभित्र दुई–तीन सय हनुमान चालिसा बाँडे । बिहान–बेलुका हिरासतभित्रै धार्मिक प्रवचन पनि गरें । यो सबै व्यवस्था मिलाउनुभएकोमा हृदयदेखि आभारी छु ।

अझै बलियो र विवेकशील भएर अघि बढ्नेछु । अझै खरो र तगडा भएर यो अभियानमा लाग्नेछु । कसैसँग डराउनेवाला छैन । प्रशासन, राज्य, प्रधानमन्त्री, गृहमन्त्री कसैसँग डराउनेवाला छैन । जबसम्म लक्ष्य पूरा हुँदैन, मेरो प्राण रहुञ्जेल लडिरहन्छु । मलाई राजनीति गर्नु छैन, धर्मनीति गर्नु छ । अरु गुरुहरु चुपचाप आफ्नो भागवत कथा भनेर हिँडिरहँदा तपाईंलाई किन दशा लागेको भनेर पनि भन्छन् । तर, मलाई आपत्ति छैन । नेपालमा गौहत्या हुन्छ भने त्यसको विरोध गर्छु नै । भोलि नै समातेर लैजान्छ भने पनि लैजाओस् ।

नेपाल वैदिक सनातन धर्मसापेक्ष राष्ट्र हुनुपर्छ भन्ने मेरो अडान हो । देश, धर्म र गौमाताका लागि लड्दा राज्यले मलाई यत्रोसम्म गर्न सक्यो भन्नेमा मलाई पीडा होइन गर्व छ । ईश्वरले मलाई हिम्मत दिनुभयो । लक्ष्य प्राप्त नहुँदासम्म अहोरात्र लाग्नेछु । देश र धर्मका लागि १० वर्ष जेलमा सडाउँछन् भने पनि मेरो आवाज रोकिँदैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७