सय वर्ष पुरानो स्वर्गाश्रम पूर्वाधार र संरक्षणको पर्खाइमा


८ भाद्र २०७४, बिहीबार
swarghram

swarghram

म्याग्दी, माघ १० : सयवर्ष पुरानो इतिहास बोकेको म्याग्दीको भकिम्ली–३ मा अवस्थित धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने प्रसिद्ध स्वर्गाश्रम पूर्वाधार विकास, संरक्षण र प्रचारप्रसारको पर्खाइमा छ।

समुद्री सतहदेखि झन्डै दुई हजार ५०० मिटरको उचाइमा अवस्थित स्वर्गाश्रममा आवश्यक पूर्वाधारको विकास हुन नसक्दा ओझेलमा परेको हो।

सदरमुकामको पहुँचभन्दा टाढा, सडक मार्गले छुन नसक्नु, बजेटको अभाव, प्रचारप्रसार नहुनु जस्ता कारणले धार्मिक र पर्यटकीय महत्व बोकेको आश्रम विस्तारै ओझेलमा पर्दै गएको छ । पुरानो इतिहास बोकेको प्रसिद्ध स्वर्गाश्रम कालीगण्डकी, धौलागिरि, मुक्तिनाथ, जगन्नाथ, पुलहाश्रमलगायत विभिन्न डाँडाले घेरिएको छ । स्वर्गाश्रममा गणेशको मन्दिर, पौवा, सत्तल आदि रहेका छन् ।

म्याग्दी सदरमुकाम बेनीदेखि तीन कोष टाढा रहेको स्वर्गाश्रममा देशका विभिन्न ठाउँबाट गुरु तथा माता आएर तपस्या गर्ने गर्दछन् । बेनीदेखि गाडीमा डेढ घन्टामा भकिम्ली र त्यहाँबाट आधा घन्टामा पुग्न सकिने आश्रमसम्म सडक निर्माण गर्नसकेमा पनि आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने स्थानीयवासी बताउँछन् । आश्रमको विकास गर्नसकेमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने स्वर्गाश्रम व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर जिसीले बताए। उनका अनुसार आश्रममा आएर तपस्या गर्ने तपसीका लागि व्यवस्थित बसाईं आवश्यक छ ।

भकिम्लीको स्वर्गाश्रमको डिलबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे«, निलगिरि, मानापाथी, गुर्जा, गणेश, बेहुलाबेहुलीलगायत दजनौँ सेताम्मे हिमाल देखिन्छन् । त्यस ठाउँबाट हिमाल मात्रै होइन म्याग्दीको सदरमुकाम बेनीसहित अधिकांश भाग र पर्वतको उत्तरी क्षेत्र समेत देखिन्छ ।

आश्रम आसपासको वनजङ्गलमा रातो, सेतासहित विभिन्न सात रङका लालीगुराँस पाइन्छन् । स्थानीयवासीले तिनै लालीगुराँसका फूल टिपेर ल्याई गाउँमा हुने सामाजिक तथा धार्मिक कार्यक्रममा फूलमाला, तोरण र उपहारका लागि प्रयोग गर्ने गरेका छन् ।

यसैगरी जङ्गलमा स्वास्थ्यवद्र्धक जडीबुटी जस्तैः सतुवा, चिराइतो, पाखनवेद, लौठेसल्ला, चरचरेलगायत पाइन्छन् । आश्रमको नजिकै ऋषि माताले तपस्या गर्ने गरेको ओढार रहेको छ । यो २०४३ देखि ५५ सालसम्म इन्दिरा माताले तपस्या गरेको गुफा ओढार हो । आश्रममा सन् १९४८ मा छविनन्दप्रसाद गुरुले तपस्या गरेका थिए भने २०१७ सालमा बागलुङको बिहुँबाट प्रमानन्द गुरु बालतपसी आई तपस्या गरेका थिए । समयसमयमा म्याग्दीसहित पर्वत, बागलुङ र चितवनलगायतका जिल्लाबाट तपसी आएर ध्यान गर्ने गरेका छन् ।

आश्रममा विभिन्न मूर्तिकला, सप्तऋषि डाँडा रहेको किम्बदन्ती छ । छिमेकी जिल्ला बागलुङको धम्जा गाविससँग सिमाना जोडिएको क्षेत्र भएको हुँदा धम्जावासी आफ्नो जिल्लाको सदरमुकाम बागलुङ जान स्वर्गाआश्रमको बाटो प्रयोग गर्ने गरेका छन् । आश्रममा हरेक वर्ष वैशाख १ गते रथयात्रासहित विशेष पूजाआजा गरिन्छ । आश्रम नजिकै रहेको तीन हजार मिटरको उचाइमा अवस्थित बेलढुङ्गाबाट म्याग्दी, पर्वत बागलुङ, गुल्मीसहित आठ जिल्लाको केही भाग देखिने स्थानीयको भनाइ छ ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७