आफ्नो जीन्दगीको हिसाब नखोजी ३५ वर्ष गणित सिकाउने भारतीय गुरु


१५ जेष्ठ २०७५, मंगलवार
teachers

पोखरा, १५ जेठ । ‘कास्कीको दक्षिण भेगस्थित बरमाझथर, बरपौवा, डाँडागाउँ र गैह्रागाउँका साथै आसपासका विद्यार्थीले लागि भारतीय गुरु भोलासिंह ठाकुरको योगदान अहिलेसम्म भुल्न सकेका छैनन्’, शान्ति उदय माध्यमिक विद्यालय बरपाण्डेथुमका पूर्व विद्यार्थी मोती भुजेल बताउँछन् । teachers

‘भारतको ठकुरापार पोष्ट, बढया चोक गोरखपुरबाट आएर निरन्तर साढे तीन दशक आफ्नो जीवनको महत्वपूर्ण समय यहाँका विद्यार्थीलाई गणित र विज्ञान पढाएर बिताएका सिंहकै योगदानका जगमा आज धेरै विद्यार्थी प्रशासनिक, राजनीतिक, सञ्चारलगायतका क्षेत्रमा महत्वपूर्ण पदमा पुगिसकेका छन्’, उनी भन्छन् । जवान अवस्थाका ठाकुरलाई विद्यालयका शिक्षक कमलप्रसाद आचार्य र शशिधर भण्डारीले २०४० सालमा गोरखपुर नै पुगेर ल्याएका हुन् ।

निरन्तर साढे तीन दशक अध्यापन गराए पनि अस्थायी शिक्षककै रुपमा उमेर हदका कारण यही वैशाख २७ गतेदेखि सेवा निवृत्त बन्नुभएका ठाकुर यतिखेर प्रत्येक पूर्व विद्यार्थीको मन मस्तिष्कमा छाइसकेका छन् । सेवा निवृत्त भएका सिंहलाई सामाजिक सञ्जालमार्फत आफ्नो जिन्दगीको हिसाब नै नगरी गणित सिकाउने एउटा आदर्श गुरुका रुपमा यतिखेर उनका पूर्व विद्यार्थीले चित्रण गरेका छन् । शान्ति उदय माविमा ल्याइनुपूर्व नै ठाकुरले गोरखपुरमा आइएस्सी उत्तीर्ण गरेपछि ब्याचलर ट्रेनिङ सेन्टरबाट दुई वर्षे बिटिसी तालीम लिइसकेका थिए ।

विद्यालयमा गणित तथा विज्ञान विषयको शिक्षक आवश्यक भएकाले ल्याइनुभएका ठाकुरले २०४० साल फागुन २८ गतेदेखि निरन्तर अध्यापन गर्दै आएका थिए । पढाउनुअघि आफू यता नआएको बताउने ठाकुरले विद्यालयमा पढाउन थालेपछि भने जीवनको झण्डै ३५ वर्षसम्मको समय यही बितेको बताउँछन् ।

भारतदेखि आएर ३४ वर्ष दुई महिनासम्म निरन्तर यस क्षेत्रका विद्यार्थीको शैक्षिक प्रगतिमा ठाकुरले पु¥याएको योगदान अतुलनीय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद लम्साल बताउँछन् । ‘भोला सरले आफ्नो जीवनको महत्वपूर्ण समय यहाँको शैक्षिक विकासमा खर्चनु भएको छ’, उनले भने, ‘यत्रो लामो समय विदेशबाट आएर उहाँले गरेको योगदान यो गाउँ तथा समाजका लागि ठूलो सेवा पनि हो, यसलाई हामी कसैले बिर्सन सक्दैनौँ ।’

विद्यार्थीको सफलतालाई नै आफ्नो सफलता ठान्ने ठाकुर यस विद्यालयमा आएसँगै यस क्षेत्रका विद्यार्थीको गणित तथा विज्ञान विषयको सिकाइको स्तरमा राम्रो परिवर्तन आएको अभिभावकको अनुभव छ । विदेशबाट आएर पनि आफ्नो जीवनको महत्वपूर्ण समय यहाँको शिक्षाका लागि खर्चिनुभएका ठाकुरको योगदान अमूल्य रहेको अभिभावक शान्ता पौडेल बताउँछिन् । ‘विदेशबाट आएर यस किसिमको योगदान गर्ने व्यक्ति विरलै हुन्छन्’, शान्ति उदय मावि विद्यालय व्यवस्थापन समितिकी पूर्व महिला सदस्य समेत रहेकी पौडेल भन्छिन्, ‘यहाँको समाजमा विद्यार्थीको शैक्षिक विकासका लागि उहाँले लगाउनुभएको गुन अतुलनीय छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७