राष्ट्रपतिले नियुक्ति गर्न ढिलाई गरेपछि सभामुखले दिए पाण्डेयलाई महासचिवको जिम्मेवारी


२७ मंसिर २०८०, बुधबार
Padma Prasad Pande

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयलाई संघीय संसदको महासचिवको जिम्मेवारी दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई संघीय संसद्को महासचिवमा नियुक्ति गर्न गरिएको सिफारिस ‘पेन्डिङ’ मा राखेपछि सभामुख घिमिरेले आज (बुधबार) उनलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएका हुन् ।

सभामुखले घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाको परामर्शमा प्रतिनिधि सभाका सचिव पाण्डेयलाई महासचिवको काम गर्न तोकेको सभामुख सचिवालयले जनाएको छ । प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले कार्यवाहक तोकेको सभामुखको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सभामुख घिमिरेले महासचिव नियुक्तिमा भएका ढिलाइ वा चासोबारे राष्ट्रपतिसँग संवाद गर्न चाहँदा सम्पर्क नभएपछि जिम्मेवारी तोकेका हुन् ।

जिम्मेवारी दिएको पत्रमा भनिएको छ, ‘संघीय संसदको महासचिव डा. भरतराज गौतमले मिति २०८०।०८। २४ बाट लागू हुने गरि आफ्नो पदबाट राजिनामा दिनु भै अनुपस्थित रहनु भएको हुँदा ‘प्रतिनिधि सभा नियमावली’ २०७९ को नियम २ को खण्ड (ढ) तथा “राष्ट्रिय सभा नियमावली“ २०७५ को नियम २ को खण्ड (ड) बमोजिम राष्ट्रिय सभाका अध्यक्षको परामर्शमा मिति २०८०।०८।२७ बाट लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि महासचिवको सेवा सुविधा पाउने गरी संघीय संसदको महासचिवको काम गर्न तपाईंलाई तोकेको छु ।’

महासचिव भरतराज गौतमको राजीनामा दिएपछि स्वीकृत नहुँदै हतार–हतार पाण्डेयलाई सिफारिस गरिएको भन्दै राष्ट्रपति कार्यालयले सिफारिस रोकेर राखेको हो । सचिवबाट राजीनामा नदिई महासचिवमा सिफारिस गरिएको तथा राष्ट्रियसभा निर्वाचनको मिति घोषणापछि नियुक्तिको सिफारिस गरिएको विषय औंल्याइएको छ । महासचिव गौतमले राष्ट्रपतिसमक्ष आइतबार राजीनामा दिएका थिए । उनले राजीनामा दिएपश्चात सभामुख घिमिरे र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सेनाले प्रतिनिधिसभाका सचिव पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए ।

052749524385537030 732290531702251 4049952860847202989 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७