खाँणलाई आज सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार लगिने


२९ मंसिर २०८०, शुक्रबार
balkrisna
फाइल फोटो

काठमाडौँ । उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई आज (शुक्रबार) सम्पत्ति शुद्धीकरण विभाग लगिने भएको छ । केन्द्रीय कारागार सुन्धाराले सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाउन लागेको हो ।

नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका सबै प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि मुद्दा चलिरहेको छ । यसअघि मंसिर १५ गते उच्च अदालत पाटनले रिहा गर्न आदेश दिएका र त्यसअघि जिल्ला अदालत काठमाण्डौले रिहा गर्न आदेश दिएकाहरुलाई पनि सम्पत्ति शुद्धीकरण विभागमा लगिएको थियो ।

उच्च अदालतमा ३० लाख रुपैयाँ धरौटी बुझाएमा खाणलाई सम्पत्ति शुद्धीकरण विभागमा लगिनेछ, त्यहाँबाट पनि रिहा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिने छ । यसअघिका प्रतिवादीहरुलाई विभाग र अख्तियारले तारेखमा रिहा गरेकाले खाँणलाई पनि त्यसैगरी रिहा गर्ने सम्भावना छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पूर्व गृहमन्त्री खाँणलाई ७ महिनाअघि पक्राउ गरिएको थियो । हिजो उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई धरौटीमा छाड्न आदेश दिएको हो । यसअघि मंसिर १५ गते उच्च अदालतकै न्यायाधीश जनकराज पाण्डे र प्रकाश खरेलबीच खाँणलाई छाड्नेबारे राय बाझिएको थियो । त्यसपछि हिजो तेस्रो न्यायाधीशको इजलासमा पेस गरिएपछि खाँणलाई थुनामुक्त गर्ने आदेश भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७