‘गरीबी र गणतन्त्रसँगै राख्न मिल्ने विषय होइनन्’


१५ जेष्ठ २०७५, मंगलवार
KP sharma oli
फाइल तस्बिर ।

आज कै दिन एक दशकअघि हामीले गणतन्त्र घोषणा गरेका थियौं । जनताका प्रतिनिधिले जनताका लागि शासन गरुन, कुनै वंश विशेषको उत्तराधिकारीबाट हैन भन्ने तपाईहरुको चाहना यस घोषणबाट संबोधन गरिएको थियो ।  यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका संपूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । ‘पूर्ण लोकतन्त्र, समृद्ध नेपाल र सुखी नेपाली’को लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने महान सहिदहरुप्रति आदरका साथ श्रद्धाञ्जली व्यक्त गर्दछु ।

Kp sharma oli 1
गणतन्त्र दिवस २०७५ को अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै  प्रधानमन्त्री केपी शर्मा ओली

कुनै समय थियो, जनतामा निहित सार्वभौमसत्ता अन्तै कसैमा निहित छ भनिन्थ्यो । जनतालाई जनता हैन रैति ठानिन्थ्यो । देशको मूल कानूनलाई समेत कुनै वंश विशेषका उत्तराधिकारीको खल्तिको पर्चा जस्तो माानिएको थियो । र, कानून संविधान र सैैब भन्दा माथि त्यस्ता शासकलाई राखिन्थ्यो ? आज हामीले “हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता” भन्ने शब्दबाट हाम्रो संविधानको प्रस्तावना शुरु गरेका छौं । यसरी जनता सर्वाभौम हुन् र सार्वभौमसत्ता केवल जनतामा मात्रै निहित छ भन्ने संवैधानिक रुपमा लिपिवद्ध गरेका छौं ।

तसर्थ, यो गणतन्त्र दिवस जनताको दिवस हो । आम नेपालीको दिवस हो । गणतन्त्र दिवस, जनताको विजय र कुलिनतन्त्रको पराजयको दिन हो । एउटा प्रगतिशिल परम्पराको थालनी र परम्पराको नाममा, जन्मसिद्ध श्रेष्ठताको आधारमा शासन गर्ने पाखण्डी व्यवस्था अन्त्य भएको दिन हो । लोकतान्त्रिक गणतन्त्र एक उन्नत विचार, दर्शन, मूल्य–मान्यतामा आधारित शासन पद्धति हो । त्यसैले आजको दिन, ‘जनताको अभिमतका आधारमा शासनसत्ता सञ्चालन हुने राजनीतिक प्रणाली स्थापना गर्ने’ नेपाली जनताको दशकौंदेखिको आकाङ्क्षा पूरा भएको दिन हो ।

यो सामाजिक न्याय, प्रतिस्पर्धाका बीच श्रेष्ठता र योग्यता खोजिने प्रणाली पनि हो । समाजको विकास सँगसँगै गतिशील हुने यसको विशेषता हो । जसरी लोकतन्त्र हामी नेपालीका लागि कसैले सापटीमा दिएको विधि नभएर हामीले लडेर स्थापना गरेको जीवन पद्धति हो, त्यसैगरी गणतन्त्र पनि नेपाली सभ्यता र परम्पराको हिस्सा र वर्तमानमा यथार्थ हो । दुनियाँमा लोकतन्त्रका मूल्य–मान्यता स्थापित नहुँदै हाम्रा पुर्खाले अङ्गीकार गरेको आफ्ना प्रतिनिधि छान्ने र उनीहरूमार्फत शासन–सत्ता सञ्चालन गर्ने अद्वितीय विधिको म स्मरण गर्न चाहन्छु ।

आज हामीले हासिल गरेको गणतन्त्र र राजनीतिक उपलब्धिहरू, विगतका राजनीतिक अभ्यास र गन्तव्यको परिणाम, प्राप्ति, समाप्ति, पुनप्र्राप्तिजस्ता परिघटनाबाट गुज्रिदै आर्जेको नेपाली मौलिकतामा आधारित उत्कृष्ट व्यवस्था हो ।  विकास, समृद्धि, सुशासन एवं स्थिरता हाम्रो गन्तव्य हो । गरीबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचार विरुद्धको कार्य हाम्रो मुख्य अभियान हो ।

गरीबी र लोकतान्त्रिक गणतन्त्रसँगै राख्न मिल्ने विषय होइनन् । सुशासन र विकास आजको हाम्रो प्राथमिकता हो । यसका लागि आज असान्र्दभिक भएका हिजोका कतिपय उपयोगी नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र संशोधन गरिने छन् । यसैमा आधारित भएर हाम्रा समग्र व्यवहारहरु रुपान्तरण गरिंदै छन् । गणतन्त्रलाई संस्थागत गर्ने, संविधानलाई कार्यान्वन गर्ने र लोकतन्त्रलाई सुदृढ गर्ने क्रममा हामीले तीनवटै तहको निर्वाचन सम्पन्न गरिसकेका छौं । केन्द्रमा प्रगतिशिल, देशभक्त र जनपक्षीय सरकार छ । सातै प्रदेश तथा ७५३ स्थानीय तहमा जननिर्वाचित सरकार क्रियाशिल छ ।

सुशासन र विकासको प्रतिबद्धतासहित संसदबाट सर्वसम्मतीले सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । यसबाट राष्ट्रिय आकांक्षाको परिपूर्तिको दिशामा अघि बढ्न, राष्ट्रिय एकता व्यापक एवं सुदृढ बन्दै गएको सुखद अनुभूति हामीलाई भएको छ ।
छिमेकी र अन्य मित्र राष्ट्रहरुसँगको सम्बन्ध थप सुदृढ भएको छ । हाम्रा राष्ट्रिय आकांक्षा र आवश्यकताहरु पूरा गर्न, श्रोत–साधन, सामथ्र्यको प्रयोग गर्न र सहकार्य अघि बढाउन थप अनुकुलता मिलेको छ ।  यस्तो बेलामा यस मूल राष्ट्रिय भावधारामा आपूmलाई समाहित नगरी पुराना, अनुचित र असान्दर्भिक सोचहरुका साथ अशान्ति र अस्थिरताको पक्षपोषण वा त्यस्ता कृयाकलाप कदापि उचित हुन सक्दैन ।

अहिले हामीले रोजगारीको अवसर सिर्जना गर्ने उत्पादन बृद्धिमा जोड दिएका छौं । उपभोगका बस्तुमा आत्मनिर्भरता बढाउने प्रकृतिको विकासलाई प्राथमिकतामा राखेका छौं । आम जनताको कष्ट हटाउनेतिर परिलक्षित विकासका आयोजनाहरु हाम्रा छनौट हुन् र अति विपन्न, बृद्ध, बालबालिका, अपाङ्ग, असक्त र गर्भवति महिलाहरु जनसंख्या भित्रका हाम्रा प्राथमिकता हुन् ।
सबैलाई खाद्य व्यवस्था, सबैलाई आबास र कपडा, सबैलाई शिक्षा र सबैलाई स्वास्थ्य सुरक्षा, हाम्रो विकासको प्रस्थान विन्दू हो ।
गणतन्त्र नै वास्तवमा लोकतान्त्रिक व्यवस्था हो । यसैकारण मैले भन्दै आएको छु, गणतन्त्र केवल राजनीतिक विषय मात्र होइन, समग्र सामाजिक रूपान्तरणको विषय पनि हो । त्यसैले हाम्रो गणतन्त्र नेपाल र नेपालीका लागि ‘सर्वजन हितायः सर्वजन सुखायः’ व्यवस्था हो ।
यस्तो उज्यालो व्यवस्थामा जनताका मलिन अनुहारहरू प्रतिबिम्बित हुने विवशताको अन्त्य हामीले गर्नै पर्दछ । त्यसका लागि दृढताका साथ आफ्नो कर्तव्य पूरा गर्न म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई यस दिवसका अवसरमा पुनःआह्वान गर्दछु ।  फेरी एकपटक दोहरायाउने अनुमति चाहन्छु, यो गणतन्त्र नेपाली जनताको विजयको प्रतीक हो । त्यसैले आज हामीले मनाइरहेको विजयोत्सव हामी सम्पूर्ण नेपालीको उत्सव हो ।

(२०७५ जेठ १५ गणतन्त्र दिवस– २०७५ को अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले दिएको शुभकामनाको पूर्ण पाठ)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७