युद्ध होइन, आत्मसम्मान चाहन्छौँ : विप्लव


९ कार्तिक २०७४, बिहीबार
काठमाडौं  : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिले चारैतिर ‘पुँजीवादी आतंक’ छाएको बताएका छन् । रुसी अक्टोबर क्रान्तिको शतवार्षिकी अवसरमा बुधबार खुलामञ्चमा आयोजित सभामा बोल्दै चन्दले विश्वभरि अहिले पुँजीवादले संकटैसंकट सिर्जना गरेको दाबी गरे ।
netra bikram chanda
पुँजीवादबाट समस्या समाधान नहुने भन्दै चन्दले सम्पूर्ण समस्याको समाधानका लागि समाजवादी झन्डा उठाउनुपर्ने बताए । उनले भने, ‘चारैतिर फैलिएको पुँजीवादी आतंकको विकल्पको रूपमा वैज्ञानिक समाजवाद स्थापनामा लाग्न म युवालाई आग्रह गर्छु ।’ अक्टोबर क्रान्ति हुनुभन्दा पहिला रुसमा मजदुरलाई भोट हाल्ने अधिकार नभएको चर्चा गर्दै चन्दले अक्टोबर क्रान्तिले रुसमा मात्र नभई विश्वभर सर्वहारा वर्गका लागि खुसियाली ल्याएको बताए ।

युद्ध होइन, आत्मसम्मान चाहन्छौँ
चन्दले आफूहरूले युद्ध नचाहेको बताए । ‘हामी युद्ध चाहदैनौँ, दास हुन पनि चाहदैनौँ, आत्मसम्मानसहित बाँच्न चाहन्छौँ,’ चन्दले भने । विदेशमा दास हुनुभन्दा देशको स्वाधीनता रक्षाका लागि बलिदान दिनु उचित हुने उनले बताए । चन्दले देशको स्वाधीनताका लागि आफूहरूले लडाइँ लडिरहेको दाबी गरे । ‘सरकार हामीबाट खतरा छ भन्दै छ । प्रधानमन्त्रीले सुरक्षा परिषद्को बैठकमा हामीबाट चुनावमा खतरा हुन सक्ने तर्क गरेछन्,’ चन्दले भने, ‘हामीभन्दा नेपाल र नेपालीका लागि खाडी मुलुकमा युवायुवीलाई दास बनाउनेबाट खतरा छ । देशलाई भ्रष्टाचारको चंगुलमा फसाउनेबाट खतरा छ ।’

वाम होइन, दाम गठबन्धन
एमाले-माओवादी गठबन्धनलाई चन्दले वाम नभई दाम गठबन्धन भएको आरोप लगाए । ‘विचार, दृष्टिकोण, दर्शन केही नमिल्ने भएकाले एमाले-माओवादीलाई वाम ठबन्धन भन्न मिल्दैन,’ चन्दले भने, ‘वामपन्थीले त संसदीय राज्य व्यवस्थाको थोरै भए पनि आलोचना गर्छ । तर, एमाले-माओवादी दुवैले संसदीय व्यवस्थाको पक्षपोषण गरिरहेका छन् । उनीहरू निम्न पुँजीवादलाई पक्षपोषण गर्ने शक्ति हुन् ।’ उनले कांग्रेस काम नलाग्ने गरी थोत्रिसकेको भन्दै कांग्रेसलाई अब संग्रहालयमा राख्ने तर्क गरे ।

तीन शक्ति मिल्नुपर्छ
चन्दले एमाले, माओवादी केन्द्रका क्रान्तिकारी नेता कार्यकर्ता, देशभक्त नेपाली र राष्ट्रवादी सेना, प्रहरी र कर्मचारी मिल्नुपर्ने बताए । तीन शक्ति मिले मात्र दलाल पुँजीवादी शक्तिविरुद्ध लड्न सकिने उनको भनाइ थियो । नेकपा स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओलीले माओवादी केन्द्रले सिंहदबारको अधिकार गाउँघरमा भने पनि यसले सिंहदबारको भ्रष्टाटाचार गाउँघरमा पु¥याउने दाबी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७