राष्ट्रिय सभा निर्वाचनमा २,०४७ मतदाता


४ पुष २०८०, बुधबार
nirbachan aayog

काठमाडौं । आउँदो माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरेको छ । आयोगले आज (बुधबार) सार्वजनिक गरेको मतदाता नामावली स्वीकृति अनुसार कूल २,०४७ मतदाता रहेका छन् ।

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट मतदाता नामावली स्वीकृत भएको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानूनी व्यवस्था भए बमोजिम प्रदेश सभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १।४९८ जना गरी जम्मा २।०४७ जनाको मतदाता नामावली स्वीकृत भएको आयोगले जनाएको छ ।

स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता १५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ को नाम हटाइ कूल १४९८ जनाको नामावली स्वीकृत गरिएको आयोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वीकृत मतदाता नामावली आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको जनाएको छ । निर्वाचन कार्यक्रम बमोजिम पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुने र प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिने र पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगले बताएको छ ।

उल्लेखित मतदातामध्ये प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेकोले मिति २०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेश सभा सदस्यको कूल मतभार २९,०९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८,४६२ गरी जम्मा ५७,५५९ मतभार रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७