प्रचण्डलाई ओलीको प्रश्न : व्यापारी चिन्नु र बेथिति गर्नु एउटै हो ?

‘मध्यपहाडमा निराशा छायो भने देशको भविष्य अप्ठ्यारोमा पर्ने देखिन्छ’


८ पुष २०८०, आईतवार
kp oli 19

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको सम्पत्ति केही व्यक्तिका फाइदाका लागि डुबाउने काम रोकिनुपर्ने बताएका छन् । ‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ बारे जानकारी दिन आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एनसेल खरिद बिक्रीको प्रसङ्ग उठाउँदै खर्बौंको सम्पत्ति अर्बौंमा किनबेच भइरहेको भन्दै आपत्ति जनाए ।

‘सञ्चार मन्त्रालय कहिले बेचेको हो भन्छ, कहिले होइन भन्छ यस्तो खालको हुनु भएन’, उनले भने । पूर्व प्रधानमन्त्री ओलीले सरकारले विधिको शासन पालना नगरेको दाबी गरे । सरकारको बेथितिविरुद्ध बोल्दा एमालेलाई आरोप लगाउने गरेको उनले दाबी गरे ।

‘सरकारको यो बेथिती…। अब त कस्तो भयो भने तपाईंको सरकारले यस्तो बेथिति गरेको छ नि भन्दा त्यो बेथिति गर्‍यो भन्ने व्यापारीलाई त केपी ओलीले पनि चिन्या छ नि भन्ने गरेको छ । केपी ओलीले नेपालका व्यापारी किन चिन्दैन चिन्छ नि त ।’ ओलीले प्रश्न गर्दै भने, ‘व्यापारी चिन्नु र बेथिति गर्नु एउटै कुरा हो ? त्यसकारण यस्ताखालका असान्दर्भिक कुरा गरेर ध्यान अर्कोतिर मोड्ने काम सरकारले गरिरहेको छ ।’

ओलीले सुन तस्करी गर्न पशुपतिनाथमा पित्तल चढायो भनेर हल्ला फैलाउने काम गरेको उनको दाबी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिँदा एनसेल किनबेच गर्ने व्यापारी एनसेलको ८० प्रतिशत शेयर खरिद गर्ने गैरआवासीय नेपाली व्यवसायी सतिशलाल आचार्यसँग आफ्नो मात्र नभई कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीको समेत चिनजान रहेको बताएका थिए । प्रचण्डले एनसेल सेयर खरिद बिक्रीमा आफ्नो परिवारको नाम जोडेर व्यवस्थामाथि हमला गरेको आरोप लगाएका थिए ।

एनसेल खरिद बिक्रीमा प्रचण्ड परिवार संलग्न भएको सांसदको प्रश्नमा जवाफ दिँदै प्रचण्डले भने, ‘मेरो परिवार घट्दै गएर तीन जना रहेका छौं । त्योमध्ये एक जना भरतपुर महानगरपालिकाको मेयर छे, हामी सबैलाई थाहा छ । उतै बढी इन्गेज हुन्छे । एउटी छोरी छ, विचारा त्यो कस्तो छ त तपाईहरूले थाहा पाउनु भएकै छ । उनलाई जोडेर उचालेको छ । म के ठान्छु भने यो संवैधानिक व्यवस्था, गणतन्त्र र लोकतन्त्रविरुद्धको हमला हो ।’
‘मध्यपहाडमा निराशा छायो भने देशको भविष्य अप्ठ्यारोमा पर्ने देखिन्छ’
अध्यक्ष केपी शर्मा ओलीले कतिपय अनुभवको सहारा लिँदै मध्यपहाडको स्थिति अहिलेकै जस्तो रहने हो भने देशको भविष्य अप्ठ्यारोमा पर्ने चेतावनी दिएका छन् । ‘देशको अर्थतन्त्रको एउटा मेरुदण्डको रहेको, एउटा आर्थिक केन्द्रको रुपमा रहेको मध्यपहाडी भेग, ठूलो जनसंख्या रहेको मध्यपहाडी भेग, यदि त्यहाँ निराशा छायो, त्यहाँको बसाइसराई यस्तै रह्यो, त्यहाँका जमिन बञ्जर हुँदै जाने, त्यहाँका कारोबार बन्द हुँदै जाने स्थिति कायम रहने हो भने देशको भविष्य अप्ठ्यारोमा पर्ने देखिन्छ’, ओलीले भने ।

ओलीले यात्राका क्रममा एमालेले ३० वटा जिल्लामा ठूला र साना सभा, भेटघाट, छलफल र अन्तर्क्रिरया कार्यक्रम गरिएको भन्दै त्यहाँका जनताका धेरै सरोकारलाई लिखित रुपमा ल्याएको बताए । त्यसमा त्यहाँको समस्याहरू प्रतिबिम्बित भएका उनको भनाइ छ । अब काठमाडौंमा विज्ञहरूसँग समेत ती समस्याहरूका बारेमा छलफल गर्ने बताए। त्यसलाई आगामी दिनमा नीति निर्माण गर्न सघाउने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७