बागलुङका पदमले फलाए नौं किलोको एउटै काउली


८ पुष २०८०, आईतवार
kopi

बागलुङ । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा नौ किलोको एउटै काउली फलेको छ । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थालेका बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका खत्री यतिबेला यस क्षेत्रकै सफल कृषकमा गनिन्छन् । विसं २०६६ सालअघि ज्याला मजदुरी गर्दै आएका खत्रीको कृषि क्षेत्रको लगाव, मेहनत र निरन्तरताका कारण अहिले १८ रोपनी जग्गामा फैलिएको तरकारी फार्मको मालिक भएका छन् ।

उनको फार्ममा यसपटक नौ किलोको एउटै काउली फलेको छ । खत्रीको अहिले सानाठूला गरी आठ प्लाष्टिक टनेलमा तरकारी खेती छ । कृषि क्षेत्रको निरन्तर परीक्षण र मेहनतका कारण खत्रीले मौसमी तथा बेमौसी तरकारी खेतीमा रमाउने क्रममा यसपटक आठ केजी आठ सय ८० ग्राम तौल भएको काउली फलेको खत्रीले जानकारी दिए ।

‘फार्ममा निकै ठूला काउली फलेका थिए, फार्मको सबैभन्दा ठूलो काउली टिपेर जोख्ने क्रममा नौ केजीको रहेको पाइयो’, खत्रीले भने, ‘लामो समयको मेहनत र परिश्रमका कारण यो अवस्थामा आउन सफल भएको महसुस भयो ।’ आफ्ना साथीभाइ वैदेशिक रोजगारीका लागि पलायन हुँदै गर्दा खत्रीको मनमा कहिलै विदेश जाने योजना नआएको सुनाए । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक रु १० लाख आम्दानी गर्दै आएका छन् ।

‘चार-पाँच किलोसम्मको काउली त फलेकै थिए, यसपटक अलि ठूलो काउली फलेपछि जोख्न मन लाग्यो, काउली जोख्दा नौ केजी रहेको पाइयो, स्नोम्याटिक जातको काउली हो भदौमा रोपेको काउली पुसको ७ गते टिपेर जोख्दा नौ केजी रहेको पाइयो, काउलीको तौल गरेको तस्बिर तथा श्रव्यदृश्य कृषि ज्ञान केन्द्रलाई समेत पठाएको छु’, खत्रीले भने ।

हिले ब्रोकाउली १५ क्विन्टल बिक्री गरेको बताउँदै आफूले बिक्री गरेको काउली र गोलभेँडा गलकोटसम्म निर्यात भएको खत्रीले बताए । खत्रीले यसअघि छ केजी ५० ग्रामको काउली फलाएको सुनाए । तरकारी खेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी र पाँच रोपनी बाँझो जग्गालाई सदुपायोग गर्दै खत्रीले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । खत्रीको फार्ममा आठ वटा प्लाष्टिक टनेलमध्ये दुई वटा हाइटेक र अन्य परम्परागत टनेल रहेका छन् । खत्रीले नौ किलोको काउली फलाउने दिनसम्म आउन कृषि ज्ञान केन्द्र बागलुङको ठूलो प्राविधिक सहयोग रहेको बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७