अवैध बिटक्वाइनका सञ्चालक पुरुषोत्तमधर तुलाधार र राम ढकाल पक्राउ


९ कार्तिक २०७४, बिहीबार
Bitcoin1
काठमाडौं : नेपालमा अवैध बिटक्वाइनको आधिकारिक एक्सचेन्ज गराउने बिटसेवाका दुईजना सञ्चालकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । सिआइबीले काठमाडौं–२७ का पुरुषोत्तमधर तुलाधार र कास्की सराङकोट–२ का राम ढकाललाई बुधबार पक्राउ गरेको हो । उनीहरू दुवै बिटसेवा प्रालिका सञ्चालक रहेको सिआइबी स्रोतले जनाएको छ । बिटसेवा सञ्चालन गर्ने अन्य दुईजना भने फरार छन् ।

Bitcoin1

सिआइबीले उनीहरूलाई एक महिनादेखि खोजिरहेको थियो । बिटसेवाले बिटक्वाइन तथा अन्य अल्टरनेटिभ क्वाइनहरू इथेरियम, लिटक्वाइन, ड्यासलगायत दर्जनौँ क्रिप्टोकरेन्सीको एक्सचेन्ज सेवा प्रदान गरिरहेको थियो । बिटसेवाले क्वाइनहरूको किनबेचमा १ प्रतिशत कमिसन लिने गरेको थियो । सिआइबीले गत २० असोजमा अवैध क्रिप्टोकरेन्सीका सातजनालाई पक्राउ गरेपछि बिटसेवाले आफ्नो कारोबार बन्द गरेर सर्भरका तथ्यांकसमेत मेटाएको थियो ।

‘क’ वर्गको वाणिज्य बैंककै खाता प्रयोग गरेर नेपालमा अवैध बिटक्वाइन कारोबार हुने गरेको खुलेको छ । नेपालमा बिटक्वाइनको आधिकारिक एक्सचेन्ज बिटसेवा प्रालिले नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) लगायत केही बैंकमा खाता खोली सो खातामार्फत बिटक्वाइन कारोबार सञ्चालन गरेको खुलेको हो । बिटक्वाइन कारोबारीले नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी बैंक), नबिल बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, जनता बैंक, मेगा बैंक, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंकमा रहेको विभिन्न व्यक्तिको खातामार्फत कारोबार गरेका छन् ।

ती बैंकमा रहेका खातामा बिटक्वाइन कारोबारीले इसेवामार्फत रकम पठाउने र प्राप्त गर्ने गरेका थिए । यसबारेमा जिज्ञासा राख्दा एनसिसी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रेवन्तकुमार दाहालले आफ्नो बैंकमा बिटसेवाको खाता रहेको स्वीकार गरे । ‘हाम्रो बैंकमा बिटसेवाको कारोबार रहेको पत्ता लागेको छ । तर, त्यो खाता कसरी खुल्यो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौँ,’ उनले भने । बिटसेवाको खाता बैंकमा रहेकोबारेमा नेपाल राष्ट्र बैंकले पनि सोधेको उनले जानकारी दिए । सो कम्पनीले अवैधानिक बिटक्वाइन कारोबार गर्छ भन्ने जानकारी बैंकका कर्मचारीलाई नभएर खाता खुलेको हुन सक्ने उनले बताए ।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अन्य उद्देश्य राखेर दर्ता भएको कम्पनीले झुक्याएर बैंकहरूमा खाता खोलेको हुन सक्ने बताए । ‘त्यस्ता कम्पनीले बिटक्वाइन कारोबार गरेको भए त्यो गम्भीर बैंकिङ ठगी हो, यसमा प्रहरी प्रशासन र राष्ट्र बैंकले तत्काल अनुसन्धान गर्नुपर्छ, त्यसमा सहयोग गर्न हामी तयार छौँ,’ उनले भने । आफ्नो बैंकमा बिटसेवाको खाता नभएको र व्यक्तिको खाता भए–नभएको विषयमा अनुसन्धान गरिरहेको उनले बताए ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने आफ्नो बैंकमा बिटसेवाको खाता नभएको, तर कुनै सञ्चालकको भएको भए त्यो अनुसन्धानपछि खुल्ने बताए । कुमारी बैंकका सञ्चार अधिकृत राजेश श्रेष्ठले आफ्नो बैंकमा बिटसेवाको खाता नरहेको बताए । ग्लोबल आइएमई बैंक, मेगा बैंक, जनता बैंकले पनि आफ्नो बैंकमा बिटसेवाको खाता नरहेको जनाएका छन् ।

बैंकहरूले बिटक्वाइनको कारोबार गरेका छैनन् : नेपाल बैंकर्स संघ
वाणिज्य बैंकहरूको साझा संस्था नेपाल बैंकर्स एसोसिएसन (एनबिए)ले भने आफ्नो कुनै पनि वाणिज्य बैंकले अवैध बिटक्वाइन कारोबार नगरेको जनाएको छ । ‘राष्ट्र बैंकले बिटक्वाइनको कारोबार गर्नु अवैध ठहर गरिसकेपछि हाम्रा कुनै पनि बैंकहरूले बिटक्वाइनको कारोबार गरेका छैनन्,’ एनबिएका अध्यक्ष अनिलकेशरी शाहले भने । मेगा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेको शाहले आप्mनो बैंकमा बिटसेवालगायत बिटक्वाइन कारोबार गर्नेको खाता नभएको बताए ।

इसेवा र बैंकहरूमा राष्ट्र बैंकको अनुगमन

नेपाल राष्ट्र बैंकले बिटक्वाइन कारोबारबारे बुझ्न इसेवा र केही वाणिज्य बैंकमा निरीक्षण गरेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभाग र भुक्तानी सेवा विभागको संयुक्त टोलीले बिटक्वाइन कारोबारमा इसेवाको संलग्नता बुझ्न निरीक्षण गरेको स्रोतले जानकारी दियो । राष्ट्र बैंकले नबिल बैंक, सनराइज बैंक तथा एनसिसी बैंकमा निरीक्षण गरेको हो । आफ्नो बैंकमा राष्ट्र बैंकले निरीक्षण गरेको तीनवटै बैंकले स्वीकार गरेका छन् ।

इसेवाको सेटलमेन्ट बैंक नबिल हो भने सनराइजले डलर सेटलमेन्ट सेवा उपलब्ध गराउँदै आएको छ । इसेवा, सनराइज बैंक र होमसेन्ड कम्पनीबीच त्रिपक्षीय सम्झौता भई रेमिट्यान्सको कारोबार हुँदै आएको छ । बिटक्वाइनसमेत स्वीकार गर्ने अन्तर्राष्ट्रिय भुक्तानी सेवाप्रदायक स्क्रिलले होमसेन्डको नेटवर्क प्रयोग गर्दै आएको छ । नेपालमा बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीको कारोबारीले रकम भुक्तानी गर्न तथा प्राप्त गर्न सबैभन्दा बढी स्क्रिलको प्रयोग गर्दै आएका छन् ।

आफ्नो अनुसन्धानबाट इसेवाले बिटक्वाइन कारोबार गरेको नदेखिएको नबिल बैंकले बताएको छ । ‘नबिल इसेवाको सेटलमेन्ट बैंक भएका कारणले इसेवामार्फत बिटक्वाइनको कारोबार भए–नभएको विषयमा हामी आफैँले समेत छानबिन गरेका छौँ, राष्ट्र बैंकले पनि हेरिरहेको छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीले भने, ‘हाम्रो अनुसन्धानबाट कारोबार भएको देखिएको छैन, राष्ट्र बैंकले अनुसन्धानपछि थप केही बताउँला ।’

त्यस्तै, नेपाल राष्ट्र बैंकले इसेवामार्फत अवैध बिटक्वाइन कारोबारका विषयमा सनराइज बैंकमा समेत निरीक्षण गरेको प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले जानकारी दिए । ‘इसेवाले हाम्रो बैंकबाट बिटक्वाइनको भुक्तानीका लागि डलर पठाएको जानकारी भने छैन,’ उनले भने, ‘यस विषयमा राष्ट्र बैंकले हेरिरहेकाले उसको अनुसन्धानपछि तथ्य बाहिर आउला ।’

राष्ट्र बैंकद्वारा इसेवालाई चेतावनी
इसेवाले अनुमतिविना नै सिस्टम अपग्रेड गरेपछि नियामक निकाय नेपाल राष्ट्र बैंकले उसलाई चेतावनी दिएको छ । सिस्टम अपग्रेड गर्दा प्रणालीमा रहेका तथ्यांकहरू नासिन सक्ने सम्भावना भएकाले त्यस विषयमा नियामक निकायलाई जानकारी दिनुपर्छ । तर, उसले जानकारीविना नै सिस्टम अपग्रेड गरेको थाहा भएपछि राष्ट्र बैंकले त्यस विषयमा स्पष्टीकरण सोधी अबदेखि त्यसो नगर्न चेतावनी दिएको छ । प्रहरी र केन्द्रीय बैंकले बिटक्वाइन कारोबार सम्बन्धमा अनुसन्धान थालेपछि २७ असोजमा उसले सिस्टम अपग्रेड गरेको थियो । २७ असोज राति १० बजेदेखि ३० गते बिहान १० बजेसम्म सिस्टम अपग्रेड हुने सूचना जारी गरे पनि तीन दिनसम्म इसेवाका सम्पूर्ण कारोबार बन्द भएका थिए । २७ असोजमै नेपाल प्रहरीले इसेवाको कारोबारको तथ्यांक माग गर्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले अनलाइन भुक्तानीको लाइसेन्स पाएको इसेवाका बिटक्वाइन कारोबारसँग सम्बन्धित सम्पूर्ण डेटा लिएर अनुसन्धान गरिरहेको छ ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७