दुबईबाट फर्किदा विमानमै बच्चा जन्माएकी महिला भन्छिन्–नेपाली केटासँग प्रेममा थिएँ


१० पुष २०८०, मंगलवार
latest News nayapage1 scaled

काठमाडौं । एयर अरेबिया विमानको शौचालयमा मृत्त शिशु जन्माएर हिँडेकी महिलाले आफू नेपाली केटासँग प्रेम सम्बन्धमा रहेको खुलाएकी छन् ।

सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत ती महिलाले प्रहरीले गरेको प्रारम्भिक सोधपुछमा यूएई (दुबई) मा रहँदा नेपाली केटासँग प्रेम सम्बन्धमा रहेको र बच्चा जन्माउन नै नेपाल आएको बताएकी हुन् । ‘म बच्चा जन्माउन नै नेपाल आएकी हुँ’, काठमाडौं प्रहरीका एक अधिकारीले ती महिलालाई उद्धृत गर्दै भने । यूएईबाट त्रिभुवन विमानस्थलमा अवतरण भएको एयर अरेबियाको विमानको शौचालयभित्र पुस ४ गते नवजात शिशु मृत फेला परेको थियो । सरसफाइ गर्ने क्रममा विमानका कर्मचारीले नवजात शिशु फेला पारेका थिए ।

त्यसपछि विमानबाट ओर्लिएर अध्यागमनतर्फ जाँदै गरेकी नवलपरासीको बर्दघाटकी ३० वर्षीय ती महिला पक्राउ परेकी थिइन् । शारीरिक अवस्था कमजोर देखेपछि प्रहरीले उनलाई तत्कालै केएमसी पुर्‍याएर आईसीयूमा भर्ना गरेको थियो ।
महिलाले करिब ९ महिनामा विमानभित्रै शिशु जन्मिएको प्रहरीलाई बताएकी छन् । ‘शौचालयमा गएपछि म बेहोस भएँ । पछि के के भयो, थाहै पाइनँ । प्रहरीले समातेपछि झसङ्ग भएँ’, हाल उपचारकै क्रममा रहेकी ती महिलाको भनाइ उद्धृत गर्दै ती प्रहरी अधिकारीले भने ।

महिलाले प्रेमी सम्पर्कमै रहेको बताएकी छन् । साढे तीन वर्षअघि वैदेशिक रोजगारीमा गएकी ती महिलाले आफू यूएईमा होटलको कर्मचारी भएको बताएकी छन् । प्रहरीका अनुसार उनी होटलमा हाउस किपिङलगायतको काम गर्थिन् । प्रहरीले ती महिलाका आफन्तलाई पनि सम्पर्कमा ल्याएको छ । अस्पतालबाट डिस्चार्ज भएपछि आवश्यक अनुसन्धान अगाडि बढाउने तयारी महानगरीय प्रहरी वृत्त गौशालाको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७