बारामा हत्या आरोपित भारतीय सुटरलाई गोली हानी समातियो


११ पुष २०८०, बुधबार
sutter

बारा । नेपाल प्रहरीको खोजी सूचीमा रहेका भारतीय नागरिक सुजित सिंहलाई प्रहरीले गोली हानेर मंगलबार साँझ पक्राउ गरेको छ ।

कलैया उपमहानगरपालिका–६ मा रहेको बाल एकता माध्यमिक विद्यालय बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल रुपेश स्वर्णकारको हत्या आरोपी सिंहलाई सीमावर्ती विश्रामपुर गाउँपालिको क्षेत्रबाट गोली हानेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । भारत विहार राज्यको तीनकोनी गाउँका ३५ वर्षीय सिंहको दुवै खुट्टामा गोली लागेर घाइते भएकाले प्रादेशिक अस्पताल कलैया लगिएको छ ।

सिंहले रूपेशलगायत अर्का युवकको हत्यामा सुटरको काम गरेको प्रहरीको दाबी छ । नियन्त्रणमा लिन खोज्दा भाग्न लागेपछि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सिंहको साथमा रहेको बन्दुक र त्यसमा लाग्ने गोली समेत बरामद गरेको जनाएको छ । सिंह हतियारसहित नेपाल प्रवेश गरेको सूचनापछि खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरी अधिकारीको भनाइ छ ।

रूपेशको हत्या आरोपित यसअघि एक महिलासहित पाँच जना पक्राउ परेका थिए । उनीहरूमाथि संगठित अपराध मुद्दा चलाएर प्रहरी हिरासतमा राखिएको छ । गत कात्तिक १३ गते सोमबार पौने १ बजेतिर स्वर्णकारको कलैयाको मदर्सा टोलमा गोली प्रहार गरी हत्या गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७