नेपाल सुपर लिगको फाइनल पुग्न आज ललितपुर र पोखरा भिड्दै


१२ पुष २०८०, बिहीबार
nsl

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुग्न आज (बिहीबार) ललितपुर सिटी एफसी र पोखरा थन्डर्स भिड्दै छन् । दोस्रो क्वालिफायरको खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ ।

आजको विजेता टोलीले फाइनलमा धनगढी एफसीसँग उपाधिका लागि पर्सी शनिवार खेल्ने छ । अस्ती मङ्गलवार भएको इलिमिनेटरमा काठमाण्डौ रेजर्सलाई ३–० गोलले हराउँदै ललितपुर फाइनल नजिक पुगेको हो । पोखरा पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । उसले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।

यसैबीच दोस्रो संस्करणको एनएसएलमा उपाधि विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । यस्तै, उपविजेताले २० लाख रुपैयाँ पाउने नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ । यसअघि एनएसएलको पहिलो संस्करणमा विजेता टिम काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पाएको थियो । त्यस्तै उपविजेता टिम धनगढी एफसीले १५ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

यस पटक मस्ट भ्यालुएबल प्लेयरले गोल्डेन बलसहित २ लाख रुपैयाँ पाउने पनि कम्पनीले विज्ञप्तिमा जनाएको छ । त्यस्तै सर्वाधिक गोलकर्ताले गोल्डेनबुटसहित १ लाख रुपैयाँ पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स र १ लाख तथा उदीयमान खेलाडीले १ लाख रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७