शैक्षिक योग्यता नपुगेको दाबी गर्दै गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा रिट


२०८० पौष १२ बिहीबार ०६:५९ बजे

काठमाडौँ । शैक्षिक योग्यतामा प्रश्न उठाउँदै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले आज बिहीवार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ । तर गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउन्टेन्ट (सीए) मात्र रहेको र त्यो स्नातकोत्तर वा त्यो सरह नभएको रिट निवेदकको दाबी रहेको छ । रिटमा मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ । अदालतले रिटको पेसी भोलि शुक्रवार बिहान १० बजेका लागि तोकेको छ ।

गभर्नर अधिकारीले आवेदन दिँदा बुझाएको बायोडाटामा पनि स्नातकोत्तरबारे केही उल्लेख नगरेकाले गभर्नरका लागि उहाँको शैक्षिक योग्यता नपुगेको प्रमाणित भएको रिटमा जिकिर गरिएको छ । महाप्रसाद अधिकारी २०७६ सालको चैत २४ गते गभर्नरमा नियुक्त भएका थिए । कार्य सम्पादन कमजोर रहेको भन्दै यसअघि सरकारले पदबाट हटाए पनि सर्वोच्चले उनलाई नहटाउन आदेश दिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७