ठेकेदारको लापरबाहीले सात करोडको स्वास्थ्य चौकी भवन अलपत्र


१४ पुष २०८०, शनिबार
health post alapatra khotang

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित स्वास्थ्य चौकी भवन ठेकेदारको लापरबाहीले अलपत्र परेको छ । दुई वर्षअघि नै बनिसक्नुपर्ने उक्त भवन ठेकेदार कम्पनी गौरी पार्वती न्यु टेक्निकलको चरम ढिलासुस्ती तथा लापरबाहीका कारण अलपत्र परेको हो ।

भुइँतलाको पर्खालमा प्लाष्टर गरिसकिएको भवनको माथिल्लो तलामा भने पर्खाल नै निर्माण भएको छैन । गौरी पार्वती न्यू टेक्निकल जेभीले २०७८ फागुन–२७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७७ मंसिर–११ गते स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

पटक पटक थप भएको म्याद गुज्रिदा पनि निर्माण कम्पनीले स्वास्थ्य चौकीको भवनको बाँकी काम गरेको छैन । उक्त कम्पनीले काम पूरा नगरेकामा आक्रोशित शहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाका प्रमुख प्रभाकर कर्णले कम्पनीलाई कारबाही गर्नुको विकल्प नरहेको बताए । अब पनि काम भएन भने कारबाही गर्छौँ भनेर अन्तिम पटक ताकेतापत्र पठाइएको प्रमुख कर्णले जानकारी दिए । गौरी पार्वती न्यू टेक्निकल जेभीले भ्याट बाहेक सात करोड ४० लाख ८४ हजार २९६ मा पाँच स्वास्थ्य चौकीको भवन निर्माणको ठेक्का पाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७