उसु खेलाडी निताको दुर्घटनामा निधन, स्वर्ण जित्दाको खुशी बाँड्न पनि पाइनन्


१४ पुष २०८०, शनिबार
nita khakda

काठमाडौँ । सवारी दुर्घटनामा परी उसु खेलाडी निता खड्काको मृत्यु भएको छ । हेटौंडामा आयोजित अन्तर प्रदेशस्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्कने क्रममा उसु खेलाडी खड्काको सवारी दुर्घटनामा मृत्यु भएको हो ।

दुर्घटनामा ९ खेलाडी र तीन निर्णायक घाइते भएको सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ । गए राति अन्दाजी २ बजे कपिलवस्तुको चन्द्रौटाबाट १५ किमी टाढा चोरामारा खोला नजिक खेलाडी सवार बस दुर्घटना भएको थियो ।
घाइते हुनेमा खेलाडी पुष्पा कुवँर, सपना तामाङ, सृजना बिसी, मुकेश कार्की, अस्मिता गाहामगर, अभी महतो, हरिचन्द्र कार्की, दिपक चौधरी र ज्ञानु विक छन् । यस्तै निर्णायक खुसीराम चौधरी, राजीव गुप्ता र एलिसा खाती घाइते भएको परिषदले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

परिषद्ले दुर्घटनामा परी मृत्यु भएकी खेलाडी निताप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारमा आवश्यक सहयोग गरिदिन प्रदेश सरकारसँग माग गरेको छ । प्रथम अन्तर प्रदेशस्तरीय राष्ट्रिय उसु प्रतियोगितामा प्रदेशलाई स्वर्ण पदक जिताएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी १८ वर्षीया खड्का निकै उत्साहित थिइन् ।

५२ किलो तौलमा प्रदेशलाई स्वर्ण दिएकी खड्का न आफ्नो जितको उत्सव मनाउन पाइन् नत परिवार तथा आफन्तसँग खुसी साट्न पाइन् । बागमती प्रदेशको राजधानी हेटौडा, मकवानपुरमा मकवानपुर उसु संघले आयोजना गरेको राष्ट्रिय उसु प्रतियोगितामा अभूतपूर्ण सफलता हात पारेको सुदूरपश्चिममा एक स्वर्ण नीताले पनि जोडेकी थिइन् । मङ्गलवार र बुधवार सम्पन्न प्रतियोगितामा सुदूरपश्चिमले २२ स्वर्ण, २२ रजत र ३६ कांस्य गरी जम्मा ५२ पदकमा १४ स्वर्ण, २ रजत र ४ कांस्यका जम्मा २० पदक प्राप्त गर्न गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७