रविलाई गृहमन्त्रीको चेतावनी : एक पटकको गल्तीमा कानुनी छुट पाएँ भन्दैमा सँधै त्यस्तो हुँदैन


१६ पुष २०८०, सोमबार
Narayankaji rabi

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज (सोमबार) को बैठकमा पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान गृहमन्त्रीबारे गम्भीर सवाल उठाएका छन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले लामिछानेका सवालको अक्षरशः जवाफ दिएका छन् । बैठकमा लामिछानेले गृहमन्त्री श्रेष्ठको नैतिकतामाथि प्रश्न उठाउँदै ‘बरू समुन्द्रमा हराएको टाइटानिक भेटिएला तर तपाईंको नैतिकता भेटिन्न, म त्यता जादिनँ,’ भनेका थिए । लामिछानेले भुटानी शरणार्थी प्रकरण र ६० किलो सुन बरामद प्रकरणमा आफूले दिएको प्रमाण पनि गृहमन्त्रीले जोगाएर राखेको बताएका थिए । उनले न्यायिक छानबिन समिति बनाउनुको उद्देश्य कतै आफ्नाहरूलाई जोगाउन त हैन भनेर गृहमन्त्रीलाई सोधेका थिए । लामिछानेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले लामिछानेमाथि नै प्रश्न गरेका छन् ।

उनले लामिछाने पहिले नै प्रतिक्रियात्मक भएको टिप्पणी गरेका हुन् । वैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले लामिछानेले गरेका तर्कहरू गलत भएको बताएका हुन् । ‘मलाई केही पर्छ कि क्या हो त्यही भएर भन्दिहालौं जस्तो पो लाग्छ कि मान्छेहरूलाई ? अथवा आफूले पहिले गरेको गल्तीमा कुनै कारणले कानुनी छुट पाए भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भन्ने पो लाग्छ कि !,’ श्रेष्ठले भने, ‘दोष छ भने कारबाही गरिन्छ । तर प्रतिशोध साध्न सकिन्न ।’

गृहमन्त्री श्रेष्ठले कानुनको कार्यान्वयनमा निष्पक्षतापूर्वक लागेको बताउँदै लामिछानेले उठाएका सवालहरूको जवाफ दिएका हुन् । ‘म रियाक्टिभ मान्छे होइन, उहाँले समितिमै प्रश्न उठाएको भएकाले समितिमै जवाफ दिन उपयुक्त ठानेको छु,’ गृहमन्त्री श्रेष्ठले भने, ‘६० किलो सुन काण्डमा सिआइबीलाई छानबिन गर्न ल्याइयो । त्यो किन ल्याइयो त भने प्रहरी परिचालन गरेर नजिकका मान्छेलाई छुट दिन सकिन्छ र दोषीलाई उम्काउन सकिन्छ भन्ने आशय राखेर सिआइबीमा ल्याइयो भन्ने कुरा उहाँको छ । तर छानबिन समिति बनाउन माग गर्ने र बनिसकेपछि धन्यवाद दिनेमध्ये उहाँ पनि एक हो ।’ गृहमन्त्रीले जवाफ दिँदा लामिछाने भने बैठकमा थिएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७