‘बालकुमारी घटना’ बाहिर देखिए जस्तो मात्र छैन : प्रधानमन्त्री

‘गठबन्धन देश र सुशासन रक्षाका लागि हो, टुट्नेवाला छैन’


१६ पुष २०८०, सोमबार
prachanda

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालको सत्तारूढ गठबन्धन कुनै हालतमा नटुट्ने दावी गरेका छन् । कांग्रेसले आयोजना गरेको ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मा उनले देशको रक्षा र सुशासनका लागि गठबन्धन जोगाएरै अघि बढ्नुको विकल्प नभएको बताएका हुन् ।

राष्ट्रिय सहमति बनाएर जाऊँ भनेर आफूले मुख्य राजनीतिक नियुक्तिका पदहरूमध्ये राष्ट्रपति पद कांग्रेसलाई दिऊँ भन्ने प्रस्ताव राखेको पनि उनले बताए । कांग्रेसलाई बाहिर राखेर लोकतन्त्र सहज तरिकाले अघि जाँदैन भनेर आफूले गठबन्धन गरेर सहकार्य गरेको जिकिर गरे ।

उनले भने, ‘कांग्रेसलाई सहमतिले नै राष्ट्रपति दिऊँ त्यसले राम्रो सन्देश दिन्छ भनेर मैले प्रस्ताव राखेको थिएँ । त्यसमा सहमति हुन सकेन र मेरो अन्तरआत्माले कांग्रेसलाई बाहिर राखेर लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रिया पूरा हुँदैन भन्ने लागेपछि गठबन्धन गरेर सहमति गरिएको हो ।’

प्रतिपक्षलाई हामीले लेखा समितिबाहेक अरू नदिने गरेको भए पनि यसपटक संक्रमणकालीन काम टुंग्याउन एमालेलाई तीनवटा समितिको सभापति दिइएको पनि उनले प्रष्ट पारे । गठबन्धन टिकाउनका लागि सबैले सक्रिय भूमिक खेल्न पनि उनले अनुरोध गरे । त्यस्तै, प्रचण्ड सानो पार्टीबाट प्रधानमन्त्री बन्यो भनेर कसैले रिसराग नराख्न पनि उनले अपिल गरे। आफू प्रधानमन्त्री बन्नका लागि ठूलो जोखिम उठाएको पनि उनले दाबी गरे ।

त्यस्तै, आफ्नो कार्यशैली सुधार गर्दै जाने र त्यो काम आफ्नै कार्यालयबाट सुरु गरिसकेको पनि उनले बताएका छन् । कांग्रेसले संस्थापक नेता बिपी कोइराला आठ वर्षको निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा पुस १६ लाई मेलमिलाप दिवसको रूपमा मनाउँदै आएको छ ।
‘बालकुमारी घटना’ भित्र अर्कै केहि छ भन्ने अनुभूत गरेको छु’

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले बालकुमारीमा दुई जना को हत्या हुनु लोकतन्त्र र गणतन्त्रमाथिको डिजाइन भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आफूसँग प्रुफ नभए पनि यसमा केही न केही डिजाइन भएको बताएका हुन् । ‘यो घटनामा ब्रिफिङ लिइयो । केही चिज गम्भीर छन् । म सबै भन्न चाहन्नँ । जस्तो परिवेशमा दुई जना युवाको हत्या भएको छ, यो सामान्य छैन । ईपीएसमा जे जस्ता गतिविधि भएका छन् । गाडी जलाउने जस्ता गतिविधि भएका छन् । चिज जस्तो देखिएको छ त्यस्तो छैन । यो भित्रै अर्कै केही छ भन्ने मैंले अनुभूत गरेको छु’, उनले भने, ‘यो कहीं लोकतन्त्र, गणतन्त्रविरुद्धको डिजाइन त होइन ? यो मेरो कुनै प्रुफ होइन । त्यसैकारण मैंले तुरुन्त नै त्योसँग सम्बन्धितलाई निलम्बन गर्ने र उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्छ सामान्य छानबिन समितिले मात्रै पुग्दैन भन्ने निष्कर्ष निकालिएको हो ।’

यस क्रममा मृतकका परिवारलाई समेत बालुवाटारमा बोलाएर गम्भीर ढंगले समीक्षा गरिएको छ पनि उनले बताए । ‘घटनापछि दुई परिवारलाई बालुवाटार बोलाएर गम्भीर समीक्षा गरिएको छ । क्याबिनेटले गर्न सक्ने र गर्नुपर्ने काम तुरुन्तै गरेको छ । दुई परिवारलाई रोजगारी दिने र सहिद घोषणाको विषय राजनीतिक प्रक्रियाबाट छलफल गरी टुंग्याउछौं’, प्रधानमन्त्रीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७