बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी छैनन्, गल्ती गर्नेलाई कार्वाही हुनुपर्छ : अध्यक्ष नेपाल


१६ पुष २०८०, सोमबार
madhav nepal

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालकुमारी घटनामा मन्त्री प्रकाश ज्वाला दोषी नभएको बताएका छन् ।

आज (सोमबार) नेपाली कांग्रेसको राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनामा मन्त्री ज्वालाको कुनै दोष नभएको दावी गरेका हुन् । ज्वाला एकीकृत समाजवादी पार्टीबाट मन्त्री बनेका हुन् ।

उनले बालकुमारी नजिकै पार्टीको केन्द्री कमिटीको बैठकबाट सरकारी कामको सिलसिलामा बाहिर निस्किने क्रममा मन्त्री ज्वालाको गाडीमाथि आगजनी भएको बताए । मन्त्री ज्वाला आफ्नो निजी सुरक्षा अधिकारी (पीएसओ) सहित प्रदर्शनस्थल हुँदै सिंहदरबार जाँदै गर्दा प्रदर्शनकारीहरूले उनको गाडी रोकेर आगो लगाइ दिएका थिए ।

उनले भने, ‘बालकुमारीमा नेकपा एकीकृत समाजवादी पार्टीको बैठक केन्दीय कमिटीको बैठक बसिरहेको थियो । हामी बैठकमा व्यस्त थियौं । थाहा भएन । त्यसपछि उहाँ सरकारी कामकाजको सिलसिलामा निस्किनु भएको हो । घटनामा उहाँ दोषी हुनुहुन्न । यसलाई अन्यथा नलिनु होला ।’ सो घटनाप्रति एकीकृत समाजवादी गम्भीर रहेको उनको भनाइ छ । उनले घटनाका दोषीमाथि कारवाही हुनुपर्ने बताए।

इपीएस भाषा परीक्षाको विषयलाई लिएर विरोधमा उत्रिएका युवाहरूमाथि प्रहरीले गोली चलाउँदा दुई जनाको ज्यान गएको छ । युवाहरूको प्रदर्शन भइरहेको स्थानमा सुरक्षाकर्मीसहित मन्त्री ज्वाला गएपछि उनीहरूले मन्त्री सवार गाडीमा आगजनी गरेका थिए । विरोध भइरहेको स्थलमा सुरक्षाकर्मीसहित गाडी लिएर मन्त्री ज्वाला पुगेको भन्दै आलोचना समेत भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७